लगानी सम्मेलन : पाउला त 'दैजी औद्योगिक क्षेत्र'ले लगानीकर्ता ?

वैशाख १४, २०८१ |हरिश्चन्द्र बाग
लगानी सम्मेलन : पाउला त 'दैजी औद्योगिक क्षेत्र'ले लगानीकर्ता ?

काठमाडौं । यही वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनमा प्रदर्शन गरिने परियोजनाहरूको सूची स्वीकृत भएको छ । स्वीकृत परियोजनामध्ये कञ्चनपुरको वेदकोटमा प्रस्तावित दैजी औद्योगिक क्षेत्र पनि प्राथमिकतामा छ । तर, झण्डै तीन दशकदेखि चर्चामा रहेको दैजी छेला औद्योगिक क्षेत्रमा भने सरकारी निकायकै कारण काममा ढिलाइ भइरहेको छ ।

२०५२ देखि चर्चामा रहे पनि कञ्चनपुरस्थित दैजी-छेला औद्योगिक क्षेत्रको काम अझै अघि बढ्न सकेको छैन । प्रस्तावित दैजी-छेला औद्योगिक क्षेत्रमा लगानी भित्रिई समयमै सञ्चालन गर्नसके कञ्चनपुर मात्र नभई समग्र सुदूरपश्चिमकै विकासको ढोका खुल्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जंगबहादुर मल्ल बताउनुहुन्छ । 

दैजी-छेला औद्योगिक क्षेत्रका लागि २०६६ सालमा तत्कालीन जिल्ला वन कार्यालय कञ्चनपुरले जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसपछि २०७२ सालमा सरकारले जनचेतना सामुदायिक वन र वेदकोट सामुदायिक वनको नौ सय बिघा जमिनमा चार किल्ला तोकी औद्योगिक क्षेत्र बनाउने निर्णय गर्‍यो । २०७३ माघ १४ मा चार किल्ला संशोधन भयो । २०७७ फागुन १० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्रको शिलान्यास समेत गर्नुभएको थियो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको पहिलो डीपीआर अनुसार २५ हजार ९ सय ७८ रुख तथा पोल रहेकोमा डिभिजन बन कार्यालय कञ्चनपुरले हाल ४३ हजार २ सय ५७ रुख तथा पोलहरूको लगत सङ्कलन गरेको छ । प्रस्तावित क्षेत्रका दुई वटा बनको एकमुष्ट क्षेत्रफल आए पनि कसको कति क्षेत्र प्रयोग हुने भन्ने अन्यौलका कारण अहिले काम रोकिएको हो । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुले डिभिजन बन कार्यालय कञ्चनपुरको ढिलाइले काम अगाडि बढ्न नसकेको आरोप लगाएको छ । तर डिभिजन बन कार्यालय कञ्चनपुरले भने आफ्नो कारणले नभई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले समयमै विवरण उपलब्ध नगराउँदा ढिलाइ भएको दावी गरेको छ ।

कुल ८ अर्ब ६० करोड रुपैयाा लागत अनुमान गरिएको दैजी-छेला औद्योगिक क्षेत्र सञ्चालनमा आए २२ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ । सरकारी निकायबीचकै समन्वयको अभावमा ढिलासुस्ती हुँदै आए पनि यो परियोजनालाई सरकारले लगानीका लागि प्राथमिकतामा राख्नुले यसको महत्व र ओज बढाएको छ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।