तितो पोखेर मात्रै सीमा सम्बन्धी समस्या समाधान हुँदैन : बाबुराम भट्टराई

वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
तितो पोखेर मात्रै सीमा सम्बन्धी समस्या समाधान हुँदैन : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तितो पोखेर मात्रै सीमा सम्बन्धी समस्या समाधान नहुने प्रतिक्रिया दिनु भएको छ । नयाँ नक्सा नेपाली सय रुपैयाँको नोटमा राख्ने बारेमा सरकारले लिएको निर्णयलाई उहाँले अनावश्यक ढंगको बहस र विवाद चर्काउने कुरा भएको टिप्पणी गर्नुभयो ।

नेपाल र भारतबीचको सीमा विवाद समष्टिगत रूपमा समाधान गर्नु आवश्यक रहेको बताउँदै उहाँले भन्नु भयो, ‘नेपालको सीमा विवाद जुन छ, यसको हल हुनुपर्छ । समष्टिगत ढंगले गर्नुपर्छ । अंशअंश गरेर यो हल हुँदैन । अलि अनावश्यक ढंगको बहस र विवाद चर्काउने कुरा मात्रै हुन्छ ।’

ईपीजी वा नयाँ किसिमको ईपिजी वा त्यस्तै अर्को मेकानिजममार्फत सीमा, खुला सम्बन्ध, पारवहन सम्झौता, आर्थिक सम्बन्ध, वाणिज्य सम्बन्धलाई समष्टिगत ढंगले हल गरिनु पर्ने उहाँको भनाइ छ । ‘सीमा समस्या कि त युद्ध लडेर हुन्छ, कि त कूटनीतिक तरिकाबाट हल हुन्छ,’ उहाँले भन्नुभयो, ‘खाली तीतो मात्रै पोखेर र मुख मात्रै बजारेर यस्ता समस्या कहिल्यै पनि हल हुँदैनन् ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.