मुम्बई इन्डियन्सद्वारा आईपीएलमा चौथो जित दर्ता

वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
मुम्बई इन्डियन्सद्वारा आईपीएलमा चौथो जित दर्ता

काठमाडौं । सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग- आईपीएलमा चौथो जित दर्ता गरेको छ ।

मुम्बईले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको हो । पछिल्ला ४ खेलमा हैदराबादको यो तेस्रो हार हो भने मुम्बईले लगातार ४ हारको शृङ्खलामा पूर्णविराम लगायो । 

वानखेडे स्टेडियममा मुम्बईले टस जितेर बलिङ रोजेको थियो । हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । ट्राभिस हेडले ४८ र प्याट कमिन्सले ३५ रन बनाए । मुम्बईका हार्दिक पाण्ड्या र पियुष चावलाले ३-३ विकेट लिए ।

जवाफमा मुम्बईले १७ ओभर २ बलमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । खराब सुरुवात गरेको मुम्बई ४ ओभर १ बलमा ३१ रन जोड्दा ३ विकट गुमाएको अवस्थामा थियो । तर चौथो विकेटका लागि सूर्यकुमार यादव र तिलक बर्माले अविजित  १ सय ४३ रनको साझेदारी गरे । 

सूर्यकुमारले ५१ बलमा १ सय २ रनको अविजित इनिङ्स खेले । उनलाई साथ दिएका तिलकले ३७ रन बनाए । हैदराबादका प्याट कमिन्स, भुवनेश्वर कुमार र मार्को यान्सनले १-१ विकेट लिए ।

जितसँगै मुम्बईले १२ खेलमा ८ अंक जोडेको छ । ऊ लिगको पुछारबाट एक स्थान माथि उक्लिँदै नवौँ स्थानमा पुगेको छ । ११ खेलमा १२ अंक जोडेको हैदराबाद चौथो स्थानमा छ । आईपीएलमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्ने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.