बाँके । सरकारले नेपालगन्ज नाकामा एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा ल्याएको छ । आजदेखि सञ्चालनमा आएको एकीकृत जाँच चौकी आठौं हो ।
तीन अर्ब २० करोड रुपैयाँ भारतीय सहयोगमा बनेको आईसीपीमा भन्सार, अध्यागमन, प्लान्ट र पशु क्वारेन्टाइन, बैंक तथा सुरक्षा निकाय एउटै छातामुनि सञ्चालन भएका छन् । अबदेखि पुरानो नाकातिरको मार्गबाट नेपाली र भारतीय यात्रुलाई मात्र आउजाउ गर्न दिइने भएको छ ।
४५.८१ हेक्टरमा फैलिएको आईसीपीमा १८.५ हेक्टरमा भौतिक संरचना निर्माण गरिएको छ । हाललाई अहिले आयाततर्फ दुई सय मालवाहक गाडी पार्किङ गर्न सकिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो भारत भ्रमणका बेला दुई देशका प्रधानमन्त्रीबाट सो आईसीपीको संयुक्त उद्घाटन भएको थियो ।