सीपले बनाएको आत्मनिर्भर

वैशाख २३, २०८१ |जनकबहादुर शाही
सीपले बनाएको आत्मनिर्भर

हुम्ला । पछिल्लो समय हुम्लामा सिलाइकटाइ सिकेर आत्मानिर्भर हुने महिलाको संख्या बढेको छ ।

पहिला हुम्लामा यो व्यवसाय दलित समुदायले मात्र गर्ने पाइए पनि अहिले सीप सिकेरै व्यावसायिक रुपमा यसतर्फ आकर्षित हुनेको गैरदलितको संख्या उल्लेख्य बढेको छ । पछिल्लो समय हुम्लाका महिलाहरुले सिलाइकटाइ तालिम लिएरै यसैलाई आत्मनिर्भरको माध्यम बनाउन थालेका छन् । त्यसमध्येकी एक हुनुहुन्छ- सिमकोट २, ठेहेकी लक्षु बोहोरा ।

बर्सेनि हुम्लाका महिलाहरुलाई विभिन्न सरकारी संघ-संस्थाले सिलाइकटाइसँगै विभिन्न तालिम दिने गरेका छन् । तर बोहोराले व्यक्तिगत लगानीमै ४ वर्षअघि नेपालगन्ज गएर ६ महिने सिलाइकटाइसम्बन्धी तालिम लिनुभयो । त्यसपछि गृहजिल्ला फर्किनुभएकी बोहोराले ६० हजार लगानीमा सिलाइकटाइ व्यवसाय थाल्नुभयो । अहिले उहाँको पसलमा मासिक ५०/६० हजार रुपैयाँबराबरको कारोबार हुने गरेको छ ।

सिलाइकटाइ सिकेका महिलाहरुलाई आत्मनिर्भर बनाएको छ : उपाध्यक्ष रोकाया

सिलाइकटाइ व्यवसायले उहाँलाई आत्मनिर्भर बनाएको छ । ‘काम गरेर कमाएको पैसाले दुई छोराछोरीको पढाइ र अन्य खर्च धान्न सजिलो भएको छ,’ उहाँले कान्तिपुरसँग भन्नुभयो, ‘हामी काम गर्न अल्छी गर्छौं । अरुको मुख मात्रै ताक्छौं । खाली हात बसेर अरुको मुख ताकेर बस्नुभन्दा केही न केही गरेर बस्नुपर्छ भनेर यो काम सुरु गरेकी हुँ ।’ यसबाट आम्दानी भएको रकम बच्चाको पढाइसँगै केही बचतसमेत गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

पछिल्लो समयमा महिलाहरु विभिन्न सीप सिकेर आत्मनिर्भरताको बाटोमा लागेका छन् । यसले उनीहरुको जीवनयापन सहज पनि बनाएको छ । यसले यहाँका महिलाको जीवनशैली पनि परिवर्तन गरिदिएको सिमकोट गाउँपालिका उपाध्यक्ष सुशीला रोकाया बताउनुहुन्छ । बोहोरा मात्र होइन अहिले सिमकोटका अन्य महिलाहरु पनि सिलाइकटाइ व्यवसायबाट आत्मनिर्भर भएको रोकायाको भनाइ छ । ‘काम पनि हुने, पैसा पनि कमाइने । विशेषगरी यो व्यवसायले हुम्लाका एकल महिलालाई आत्मनिर्भर बनाएको छ,’ उपाध्यक्ष रोकायाले भन्नुभयो ।

अहिले यहाँका सीप सिकिसकेका महिलाहरुलाई आफूले जानेको अरुलाई समेत सिकाउन थालेका छन् । महिलाहरुले सीप सिकेर आत्मनिर्भर बन्दा अरुले होच्याउने, हेप्ने प्रवृत्ति पनि घटेको र सानोतिनो खर्चका लागि कसैका अघि हात थाप्नु नपरेको बोहोराको अनुभव छ । उहाँका अनुसार हिजोका दिनमा महिलालाई हेला गर्ने, नकारात्मक सोच्ने पुरुषहरु अहिले हातेमालो गर्न थालेको र आँट र भरोसा दिन थालेकाले पनि झनै काम गर्ने हौसला मिलेको बोहोरा बताउनुहुन्छ ।


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।