पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने संकेत

वैशाख १२, २०८१ |विकास आचार्य
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने संकेत

काठमाडौं । के पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किन लाग्नुभएको हो ? अहिले सामाजिक सञ्जालमा बहसको विषय बनिरहेको छ । नेकपा एमालेले सोमबार गरेको एक कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीको उपस्थिति, वामपन्थी दलहरूलाई मिल्न दिनुभएको सुझावले पनि उहाँ पुनः सक्रिय राजनीतिमा फर्किन लाग्नुभएको हो कि भन्ने छनक दिएको छ । तर उहाँले यस विषयमा खुलेर कतै बताउनुभएको छैन । नेकपा एमालेभित्र पनि भण्डारी सक्रिय राजनीतिमा आउनुहुन्छ कि हुँदैन भन्ने दुई धार छ । तर, एमालेभित्र पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन पहल गर्नेहरूलाई भने पछिल्लो घटनाले थप बल पुगेको छ ।

नेकपा एमालेको ललितपुरको गोदावरीमा भएको कार्यक्रम र त्यहाँ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थिति तथा सम्बोधनले के उहाँ सक्रिय राजनीतिमा आउन चाहनुहुन्छ भन्ने प्रश्नलाई फेरी एकपटक सतहमा ल्याइदिएको छ । एमालेले उहाँलाई नेकपा स्थापनाको ७५ वर्ष पुगेको अवसरमा गणतन्त्र गौरवबाट सम्मान गर्‍यो । एमाले अध्यक्ष केपी ओलीको भनाई सापटी लिने हो भने, गणतन्त्र गौरव एमालेको सबैभन्दा ठूलो सम्मान हो । 

पूर्वराष्ट्रपतिको हैसियतमा एमालेले उहाँलाई सम्मान गर्ने निर्णय गर्‍यो, उहाँ सम्मान थाप्न पुग्नुभयो । तर यसकै अर्को प्रश्न, एमालेले सम्मान गर्ने निर्णय मात्र गर्‍यो वा उहाँलाई राजनीतिमा सक्रिय बनाउने सोच पनि बनायो ? प्रश्नको जवाफ आउने नै छ । तर सम्मानका क्रममा उहाँले गरेको सम्बोधनले भने सबैलाई कान ठाडो बनाउन बाध्य पार्‍यो । उहाँको सम्बोधनमा शुभकामना भन्दा पनि राजनीतिक सन्देश थियो । उहाँले नेपालका कम्युनिस्ट पार्टीहरूलाई समग्र आन्दोलनको गहन समीक्षा गर्न सुझाव मात्र दिनुभएन, कम्युनिस्टहरुलाई मिल्न आह्वान पनि गर्नुभयो ।

भण्डारी जो दुई पटक राष्ट्रप्रमुख भइसक्नुभएको छ । यस्तो व्यक्तित्वले किन कम्युनिस्टहरू मात्र मिलेको हेर्न चाहनुभयो ? उहाँ त सबै नेपालीका साझा व्यक्तित्व हुनुहुन्छ । त्यति मात्र नभएर राजनीतिक दलहरूभन्दा पनि माथि उठिसक्नु भएको व्यक्ति फेरि किन कुनै अमुक दलको प्रतिनिधि जसरी प्रस्तुत हुनुभयो ? यही प्रश्नले उब्जाएको प्रतिप्रश्न के हो भने के पूर्वराष्ट्रपति विद्या भण्डारी फेरी सक्रिय राजनीतिमा आउन चाहनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन चाहेको भन्ने चर्चा नयाँ भने होइन । एमालेकै केही नेता पनि आगामी महाधिवेशनबाट भण्डारीलाई पार्टी अध्यक्ष बनाउनु उचित हुने बहस चलाइरहेका छन् ।

अहिले सक्रिय राजनीतिमा आउन संवैधानिक भूमिका र नैतिक दृष्टिकोणले भण्डारीलाई अप्ठ्यारो छ । तर विश्लेषकहरू उहाँले राजनीतिमा आउन सोचेका हुनसक्ने तीन अनुकूलता के देख्छन् भने पहिलो चिनियाँ राष्ट्रपतिसँगको सुमधुर सम्बन्ध । दोस्रो एमालेका केही नेता खुलेरै राजनीतिमा ल्याउन सक्रिय हुनु । तेस्रो उहाँ स्वयं राजनीतिक कार्यक्रममा सक्रिय हुन थाल्नु । तर स्वयम् पार्टी अध्यक्ष केपी शर्मा ओली केही महिना अघिसम्म सक्रिय राजनीतिमा आउनुभन्दा पनि राष्ट्रिय सम्मान लिएर बस्न सुझाव दिने गर्नुहुन्थ्यो ।

सोमबारको सम्मान पनि अब सम्मानित भएर बस्नुस् भन्ने पार्टी अध्यक्ष ओलीको संकेत हो वा सक्रिय राजनीतिमा आउनका लागि ढोका खोल्ने साँचो, यो भने भविष्यले नै बताउला ।

तर राष्ट्रप्रमुख भइसकेको व्यक्ति सामान्यतः सक्रिय राजनीतिमा आउँदैनन् । पूर्वराष्ट्रपति रामवरण यादव पनि राजनीतिबाट टाढै हुनुहुन्छ । भण्डारी राजनीतिमा आउन हुँदैन भन्ने पक्षले भने उहाँका लागि तीन प्रतिकुलता देखेको छ । पहिलो नैतिक संकट, दोस्रो एमाले अध्यक्ष ओलीको अनिच्छा र तेस्रो वामपन्थीहरूको एकीकृत पार्टी निर्माण भए पनि उहाँलाई सबैले विश्वास नगर्नु ।

यहाँ अर्को महत्त्वपूर्ण प्रश्न के छ भने भण्डारीले राजनीति गर्नु हुन्न भन्ने अध्यक्ष ओली कसरी पार्टीको कार्यक्रममा सहभागी गराउन तयार हुनुभयो वा ओलीलाई मनाउन अरू नेता कसरी सफल भए ? तर, सोमबारको घटनाले भने ढिलो चाँडो पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने हो की भन्ने प्रश्नलाई थप बल पुर्‍याएको छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement