नेपाली राजनीतिमा मौलायो धोकाधडी, कति टिक्ला गठबन्धन ?

दलहरु राजनीतिक संस्कार र नैतिकतामा नबस्दा गठबन्धन बन्ने र तोडिने शृंखला
वैशाख २१, २०८१ |दशरथ राई
नेपाली राजनीतिमा मौलायो धोकाधडी, कति टिक्ला गठबन्धन ?

काठमाडौं । गठबन्धन धोका, फेरि गठबन्धन, फेरि धोका । नेपाली राजनीतिको अहिलेको नियति हो यो । जनताले निर्वाचनमा बढी मत दिएका ठूला दल हुन वा कम मत दिएका साना दल सबै राजनीतिक संस्कार र नैतिकतामा नबस्दा धोकाधडीको राजनीति मौलाएको हो ।

२०७९ को निर्वाचनपछि चुनावी गठबन्धन छाडेर एमाले र माओवादीले गठबन्धन गर्दा कांग्रेसले धोका भन्यो । तत्कालै गठबन्धन छाडेर कांग्रेस र माओवादी मिल्दा एमालेले धोका भन्यो । अहिले फेरि एमाले र माओवादीको गठबन्धन बन्दा कांग्रेसले धोका भनिरहेको छ । यसरी धोकाधडीको राजनीतिले उब्जाएको आशंकाका कारण अहिलेको गठबन्धन पनि कति दिन टिक्ने हो वा कसले कहिले धोका दिने हो टुंगो छैन ।

समीकरण हेरफेरमा हरेकपटक एउटा पक्षलाई धोका दिँदै अघि बढ्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यान सरकारको नेतृत्वमा कसरी टिक्ने भन्ने मै केन्द्रित छ । अहिले एमाले-माओवादीसहितको पाँचदलीय समीकरण कुनबेला अप्ठ्यारोमा पर्छ भन्ने स्वयं सत्तारुढ दलका नेताहरुले नै भन्न सकिरहेका छैनन् । माओवादी केन्द्रबाट पटकपटक धोका पाएको कांग्रेस कुनै पनि हालतमा वैकल्पिक गठबन्धन बनाउने प्रयासमा छ ।

सत्ता साझेदारहरु नै कतिखेर बाहिरिनुपर्ने हो भन्ने मनोवृत्तिमा छन् । त्यसको कारण हो सरकारको विकल्पमा नयाँ गठबन्धनका लागि भइरहेको सांसदहरुको जोडघटाउ र हिसाब-किताब । अहिलेको सरकारको विकल्पमा राजनीतिक वृत्तमा कस्तो अभ्यास भइरहेको छ त ?

पहिलो- एमाले र माओवादी केन्द्रसहितको पाँचदलीय समीकरणलाई नै जोगाउँदै मोर्चा, समीकरण र कार्यगत एकता गर्दै २०८४ सालको निर्वाचनसम्मै जान प्रधानमन्त्री दाहालले चाहनुभएको छ । उता एमाले अध्यक्ष केपी ओलीको कार्यशैलीमा प्रश्न उठाउँदै सरकारबाटै अलग हुने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दिँदै आउनुभएको अभिव्यक्तिले दाहालको चाहनामा जुनसुकै बेला ठेस पुग्न सक्छ ।

दोस्रो- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई चुनावपछि सरकार गठनमा धोका दिएको भन्दै एमाले माओवादी केन्द्र र रास्वपाबाहेकै पनि सरकारको गठनका प्रयास गर्नुभएको छ । जुन सरकार गठनका लागि झिनो बहुमत पुग्छ । देउवा अहिले त्यही समीकरणको प्रयासमा हुनुहुन्छ ।

अहिलेको समीकरणमा पनि आशंकै-आशंका

तेस्रो- कांग्रेस सभापति देउवाले दाहाल नेतृत्वको विकल्पमा दाहाललाई नै अघि सारेर एमाले र रास्वपाबाहेकको पुरानै गठबन्धन ब्युँताउन सक्नुहुन्छ । तर प्रधानमन्त्री दाहालले दुईपटक धोका दिइसकेकाले यो विकल्प देउवाको कम प्राथमिकतामा छ ।

चौथो- अर्को विकल्प भनेको कांग्रेस र एमाले मिलेर सरकार गठन गर्ने । अहिले दुवै दलका केही नेता यसैको कसरतमा छन् । संसद्‌को पहिलो र दोस्रो दल एकैठाउँमा उभिएर सरकार गठन गर्ने विषयमा एमालेका केही नेताहरुले मानिरहेका छैनन् । तर कांग्रेसको एउटा समूह माओवादीले पटकपटक धोका दिएकाले अब एमालेसगै मिल्नुपर्ने पक्षमा छन् र त्यसैका लागि लबिइङ गरिरहेका छन् ।

२०७९ मंसिरमा भएको संसदीय चुनावमा कुनै पनि दलको एकल बहुमत नआएको बहानामा राजनीतिक संस्कार छाडेपछि बहुमतीय सरकार गठनका लागि लुछाचुँडी भइरहेको हो । त्यही कारण १६ महिनाको अवधिमै तीनपटक राजनीतिक समीकरण फेरियो । तर पहिलो र दोस्रो दल कांग्रेस र एमालेले सरकारको नेतृत्वको अवसर पाएका छैनन् । तेस्रो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई ठूला दललाई भिडाएर सधैं सत्ताको नेतृत्व गरिरहनुभएको छ ।

नेपालको राजनीतिबारे कसले पो भविष्यवाणी गर्न सक्छ र ! (चन्द्रदेव भट्टको विश्लेषण)

कहिले कांग्रेसलाई त कहिले एमालेलाई धोका दिएर उहाँले आफ्नो पद सुरक्षित गरिरहनुभएको छ । देउवा र ओलीले बारम्बार धोका दिएको भनिरहे पनि दाहाललाई दुवैले बोकेर हिँडिरहेका छन् । २०७९ सालको चुनावमा कांग्रेससँग मिलेर गठबन्धन बनाएको माओवादीले सरकार गठन गर्ने बेला एमालेसँग मिल्यो र कांग्रेसलाई धोका दियो । तर यो दुई महिना पनि टिकेन ।

माओवादीले फेरि एमालेलाई धोका दिएर कांग्रेससँग हात मिलायो । यो पनि एक वर्षभन्दा बढी समय टिक्न सकेन । फेरि माओवादी केन्द्र एमालेको वैशाखी टेक्न पुग्यो । जसरी पनि सरकारको नेतृत्वमा रहने माओवादी केन्द्रका अध्यक्ष दाहालको महत्त्वाकांक्षाका कारण ठूला दलले पटकपटक धोका पाउँदै आएका छन् ।

त्यही कारण कसले कसलाई कतिबेला धोका दिएर जस्तोसुकै समीकरण वा गठबन्धन नबन्ला भन्न सकिने अवस्था देखिँदैन । किनकि दलहरु राजनीतिमा जनताका समस्या र मुद्दाभन्दा आफ्नो राजनीतिक स्वार्थ केन्द्रमा राखेर हिँडिरहेका छन् ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।