सिख पृथकतावादी नेता निज्जरको हत्यामा संलग्न रहेको आरोपमा तीन क्यानडेली पक्राउ

भारत सरकारसँगको सम्बन्धबारे अनुसन्धान जारी
वैशाख २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
सिख पृथकतावादी नेता निज्जरको हत्यामा संलग्न रहेको आरोपमा तीन क्यानडेली पक्राउ

काठमाडौं । गत वर्ष सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा भारतीय मूलका तीन क्यानडेलीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको सम्बन्ध भारत सरकारसँग छ वा छैन भनेर नजिकबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् । 

पक्राउ पर्नेमा २८ वर्षीय करणप्रीत सिंह, २२ वर्षीय कमलप्रीत सिंह र २२ वर्षीय करण ब्रार रहेका छन् । भारतीय मूलका तीनै जना क्यानडेली नागरिकलाई अल्बर्टाको एडमन्टन सहरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतमा अल्लगै खालिस्तान राज्यको माग गर्दै आएका ४५ वर्षीय क्यानाडाली नागरिक निज्जरलाई जुन महिनामा ठुलो सिख जनसंख्या भएको भ्यानकुभरको सरेस्थितमा सिख मन्दिर बाहिर गोली हानी हत्या गरिएको थियो ।

उक्त हत्यामा भारत सरकारको संलग्नता रहेको भन्दै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले जवाफ मागेका थिए । ट्रुडोले जवाफ मागेपछि क्यानडा र नयाँ दिल्लीबीचको कूटनीतिक सम्बन्धमा तिक्तता उत्पन्न भएको थियो । भारत सरकारले निज्जरलाई आतंकवादीको ट्याग लगाएको थियो भने नयाँ दिल्लीले ट्रुडोको दाबीलाई अस्वीकार गर्दै आएको छ । 

गत हप्ता ह्वाइट हाउसले पनि क्यानडामा निज्जर र अमेरिकामा गुरपतवन्त सिंह पन्नुनको हत्याको योजनामा भारतीय गुप्तचर विभाग ‘रअ’को भूमिकाको बारेमा चिन्ता व्यक्त गर्दै न्याय मन्त्रालयले अनुसन्धान गरिरहेको जनाएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.