मन्त्रिपरिषद् निर्णय : सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा

वैशाख २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
मन्त्रिपरिषद् निर्णय : सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा

काठमाडौं । सरकारले अहिले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टा नयाँ नक्सा राखेर डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको छ ।

वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज जानकारी दिनुभयो । यसअघि पुरानो नक्सा भएको नोट थियो । त्यस्तै सरकारले वैशाख २८ गते शुक्रबारका दिन २ बजे संघीय संसद्‌का दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

वैशाख २५ गते भारतको नयाँदिल्लीमा आयोजना हुने रिजनल मिटिङ फर दी लन्च फर दी रिजनल प्रोग्राम फर दी साउथ एसिया (आरपीएसए) विषयक कार्यक्रममा महान्यायाधिवक्ता दीनमणि पोखरेल, नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीलाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि गरेको छ । यसैगरी विश्व बैंकबाट उपलब्ध हुने सय मिलियन अमेरिकी डलर (करिब १३ अर्ब ३३ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने, सिम्बुवा खोला जलविद्युत् आयोजनाका लागि करिब १२.३६ हेक्टर जग्गा प्राप्त गर्नेसम्बन्धी कारबाही चलाउन अधिकारी तोक्ने निर्णय भएको प्रवक्ता शर्माले जनाउनुभयो ।

नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोगको क्षेत्रमा सम्पन्न हुने समझदारीपत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न सर्वोच्चका मुख्य रजिस्ट्रार वा रजिस्ट्रारलाई स्वीकृति दिने, भारतमा सञ्चालन भइरहेको आमनिर्वाचनको अवलोकनका लागि २०८१ वैशाख २२ देखि २७ गतेसम्म प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारले नेपाल र स्पेनका परराष्ट्र मन्त्रालयबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने, जापानी परराष्ट्रमन्त्री एचिएमएस कामीकावाकोको २०८१ वैशाख २३ गने हुने नेपाल भ्रमणको अवसरमा हुने दुईपक्षीय वार्ताका लागि नेपाली प्रतिनिधि मण्डल गठन गर्ने र कार्यसूची स्वीकृत गर्ने निर्णय भएको छ ।

समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्ति गर्ने निर्णयसमेत गरेको प्रवक्ता शर्माले जनाउनुभयो । सरकारले मालपोत कार्यालय गौशाला र नापी कार्यालय गौशालाको कार्यक्षेत्रमा रहेको महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकालाई उक्त कार्यालयहरुको कार्यक्षेत्रबाट हटाइ भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर, महोत्तरी र नापी कार्यालय जलेश्वर, महोत्तरीको कार्यक्षेत्रमा कायम गर्न स्वीकृति प्रदान गर्ने, एसियाली विकास बैंकको आयोजनामा फिलिपिन्सको मनिलामा २०८१ जेठ १ देखि ४ सम्म हुने एसिया एन्ड दी प्यासिफक टास्कफोर्स फोरम-२०२४ मा सहभागी हुन पोखरा महानगरपालिका प्रमुखको भ्रमण स्वीकृत गर्ने निर्णय पनि भएको छ ।

यसैगरी राष्ट्रिय सूचना प्रविधि विकास समिति गठन आदेश-२०५८ खारेज गर्ने, लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम विभिन्न सेवा समूह र उपसमूहका राजपत्रांकित द्वितीय श्रेणीका २१ अधिकृतलाई सम्बन्धित सेवा समूह र उपसमूहको राजपत्रांकित प्रथम श्रेणी वा सो सरहको सहसचिव पदमा नियुक्त गर्ने निर्णय सरकारले गरेको छ ।

सरकारले राजपत्रांकित विशिष्ट श्रेणीको केही सचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ । जसअनुसार गणेशप्रसाद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा, गोविन्दप्रसाद शर्मा वन तथा वातावरण मन्त्रालयमा, दीपककुमार खराल कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा, दीपक काफ्ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा, रेवतीरमण पौडेल कृषि विकासमा, राधिका अर्याल उपराष्ट्रपतिको कार्यालयमा सरुवा हुनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.