काठमाडौं । जाजरकोटका गणेशमान सिंहलाई गृहमन्त्री रवि लामिछानेबारे सामाजिक सञ्जालमा टिप्पणी गरेकै आधारमा पक्राउ गरी यातना दिइएको भन्ने आरोप गलत भएको प्रहरीले दाबी गरेको छ ।
प्रहरीको साइबर ब्युरोले जाजरकोटका सिंहलाई अश्लील भिडियो बनाएको उजुरीमा बुझ्न बोलाएको तर, त्यसलाई गलत रुपमा प्रचार गरिएको दाबी गरेको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता भीम ढकालले पनि साइबर ब्युरोमा बोलाएर यातना दिएको र सोही कारण सिंहले विष सेवन गरेको भन्ने विषय गलत भएको दाबी गर्नुभयो । ब्युरोमा आएका सिंहले दुई ट्याब्लेट सिटामोल खाएको र आफूमाथि लागेको आरोपबाट उम्किन भ्रामक भिडियो बनाएको प्रहरीको दाबी छ ।
तर सिंहको परिवारले भने प्रहरीबाट यातना दिएको आरोप लगाएको छ । सिंहले पनि गृहमन्त्रीमाथि टिप्पणी गरेकै कारण प्रहरीले आफूलाई यातना दिएको आरोप लगाउँदै सामाजिक सञ्जालमा राखेको भिडियो भाइरल भएको छ ।