सुरु भयो सेतो मच्छिन्द्रनाथको रथजात्रा

वैशाख ४, २०८१ |नारायण किलम्बू
सुरु भयो सेतो मच्छिन्द्रनाथको रथजात्रा

काठमाडौं । काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथजात्रा आज सुरु भएको छ । करुणामयको नाममा समेत परिचित मच्छिन्द्रनाथको मूर्तिलार्इ जमलस्थित तीनधारा पाठशालाअगाडि रथमा रथारोहण गरेपछि जात्रा सुरु भएको हो ।

सेतो मच्छिन्द्रनाथलार्इ वर्षा र सहकालका देवता मानिन्छ । मत्स्येन्द्रबहालमा रहेका मूलदेवतालार्इ परम्परागत बाजागाजा तथा गुरुजूको पल्टनसहित खटमा राखेर जमलको तीनधारा ल्याई रथारोहण गरेपछि जात्रा सुरु हुन्छ । यो जात्रा प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदसैँको दिनदेखि प्रारम्भ हुने गर्छ ।

काठ तथा बेतमात्र प्रयोग गरी बनाइएको ३२ हात अग्लो मच्छिन्द्रनाथको रथ जात्राको पहिलो दिन तीनधारा पाठशालाबाट, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्‍याइन्छ । दुईवटा डोरीको सहायताले रथ तानेर सहर परिक्रमा गर्ने चलन छ ।

मच्छिन्द्रनाथको रथ जात्राका क्रममा नेवार समुदायले आ-आफ्नो घरबाटै पूजा गर्ने गर्छन् । असन पुगेको भोलिपल्ट हनुमानढोका र तेस्रो दिन लगनटोल पुयाइन्छ । जात्राका क्रममा आफ्ना परिवारको शान्ति र कल्याणको कामना गरी बत्ती बाल्ने चलन छ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने मच्छिन्द्रनाथको दर्शन गर्नाले सुख शान्ति र कल्याण हुने जनविश्वास छ ।

परापूर्वकालमा जमलमा ज्यापूले खेत खन्दा मच्छिन्द्रनाथको मूर्ति फेला पारी जात्रा मनाउन थालिएको किम्बदन्ती छ । मूर्ति घर लगेर धानको भकारीभित्र लुकाइराख्दा जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलार्इ अन्नदाता मानेर जनबहालमा स्थापना गरिएको कथन छ । धार्मिक र सांस्कृतिक रुपमा महत्त्वपूर्ण मानिएको जात्राको तेस्रो दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालार्इ तीनपटक परिक्रमा गराइसकेपछि जात्रा सम्पन हुन्छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement