लगानी सम्मेलनमा सरकारको अपेक्षाअनुसार आएन प्रतिबद्धता

जम्मा ३ वटामा मात्रै लगानी सम्झौता
विज्ञ भन्छन्- पर्याप्त गृहकार्य नहुँदा उपलब्धि सोचेजस्तो भएन
वैशाख १७, २०८१ |सुदिल पोखरेल|भरत रावल
लगानी सम्मेलनमा सरकारको अपेक्षाअनुसार आएन प्रतिबद्धता

काठमाडौं । विदेशी लगानी बढाउने भन्दै आयोजना गरिएको तेस्रो लगानी सम्मेलनमा सरकारले १ सय ५४ वटा परियोजना सोकेशमा राखेको थियो । तर, सरकारले अपेक्षा गरेअनुसार लगानी प्रतिबद्धता आएनन् । यसपटक जम्मा ३ वटामात्रै लगानीसम्बन्धी सम्झौता भएका छन् । 

१ सय ५४ वटा परियोजना सोकेशमा राखिएको लगानी सम्मेलनमा ८ सय विदेशी लगानीकर्तासहित २५ सय जना सहभागी भएका थिए । सम्मेलनका क्रममा ३ वटा परियोजनामा लगानी सम्बन्धी सम्झौता भएका  छन् । बीएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेज भारतबीच नेपालमा करिब ३ अर्ब लागतमा  डाटा सेन्टर खोल्ने सम्झौता  भएको छ ।  

त्यसैगरी एक्सपर्ट ग्रुप अस्ट्रेलिया र रारा होल्डिङबीच रारामा होटल  निर्माण गर्ने सम्झौता भएको छ । ८० रोपनी जमिनमा बन्ने उक्त होटलको लागत १ अर्ब ५० करोड रुपैयाँ हुनेछ । साख एन्ड कम्पनी प्रालि ग्रुप र बोअ ग्रुप अफ होटलबीच पनि सम्झौता भएको छ । कपिलवस्तुको गोरुसिंगेमा १ अर्ब ८४ करोड लगानीमा होटल खोल्ने सम्झौता भएको छ, जसका लागि नेपाली पक्षले जग्गा उपलब्ध गराउने छ ।  

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, मलेसियाबीच नेपालमा लगानी भित्र्याउन सहजीकरण गर्ने गरी सम्झौता भएको छ।  त्यस्तै वर्ल्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स र नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स बीच पनि सम्झौता भएको छ ।  नेपाल 

उद्योग व्यापार महासंघ र चाइना डोंगाउन सिङ्गलङ्ग लाइटिङ प्रोडक्ट्स, नेपाल उद्योग व्यापार महासंघ र इन्डियन इन्डस्टि्रज एसोसिएसनबीच पनि सम्झौता भएको छ ।  सरकारले १ सय ५४ वटा परियोजना पेस गरेकोमा आशय पत्रका लागि एक महिनाको समय दिइएको लगानी बोर्डले जनाएको छ । तर, सरकारले पर्याप्त गृहकार्यविना सम्मेलन गरेकाले त्यति सफल हुन नसकेको विज्ञको भनाइ छ । 

पहिलो लगानी सम्मेलनमा १८ खर्ब रुपैयाँ बराबरको आशय पत्र र दोस्रो लगानी सम्मेलनमा २२ अर्ब ५० करोड डलर अर्थात् २९ खर्ब २५ अर्ब रुपैयाँको आशय पत्र आएको थियो । तर, यसपटकको सम्मेलन पनि आवश्यक तयारी नगरेकाले फलदायी हुन सकेन ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।

Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।