'सिधाकुरा'का प्रकाशकलाई बयानका लागि बोलाउने सर्वोच्चको आदेश

वैशाख १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
'सिधाकुरा'का प्रकाशकलाई बयानका लागि बोलाउने सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले स्वतन्त्र न्यायपालिका र व्यावसायिक पत्रकारितामाथि लाञ्छना लगाएर अडियो/भिडियो सामग्री उत्पादन तथा प्रसारण गरिएको विरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्दामा प्रतिवादी सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेललाई बयानका लागि बोलाउने आदेश गरेको छ ।

सर्वोच्चले 'स्वतः संज्ञान' लिएर आइतबार मुद्दा दायर गरेको थियो । उक्त मुद्दामाथि सोमबार न्यायाधीशहरू नहुकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भएको थियो ।

अवहेलना सम्बन्धी निवेदनमा जानाजान झुटा सामग्री उत्पादन तथा प्रसारण गरेकाले हदैसम्मको कारबाही गर्न र फौजदारी कसुरमा समेत अनुसन्धान गराउन माग गरिएको थियो ।

अन्य मुद्दा वा रिट अरू कसैले दायर गर्नुपर्ने प्रावधान भए पनि अदालतको अवहेलनाको मुद्दा अदालत स्वयंले दायर गर्ने न्यायिक प्रचलन संसारभर छ । त्यही प्रचलन अनुसार आइतबार सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले 'स्टिङ अपरेसन' समेतका शीर्षकमा प्रसारित कपोलकल्पित भ्रामक तथा नियोजित ढंगले प्रसारित सामग्रीले स्वतन्त्र न्यायपालिकाप्रतिको जनआस्थामा गम्भीर आँच पुर्‍याएकाले अदालतको अबहेलनामा हदैसम्म सजायको माग गर्दै निवेदन दर्ता गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.