महोत्तरीका आगलागीपीडितको पाँच दिनदेखि बिचल्ली

वैशाख १६, २०८१ |विकास आर्या
महोत्तरीका आगलागीपीडितको पाँच दिनदेखि बिचल्ली

महोत्तरी । महोत्तरीको मटिहानीका आगलागीपीडितको बिचल्ली भएको छ । आगलागीबाट घर-सम्पत्ति गुमाएको पाँच दिन बितिसक्दा पनि पीडितले सरकारबाट कुनै सहयोग पाएका छैनन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आगलागी भएको चार दिनपछि शनिबार घटनास्थलमा पुगेर निरीक्षण गरेपछि पीडितलाई राहत दिने विषयमा केही बोल्नुभएन । संघीय सरकारले पनि आगलागीपीडितलाई राहत दिने विषयमा अझै केही निर्णय गरेको छैन । 

महोत्तरीको मटिहानी-६ स्थित मुस्लिम टोल जरलहवा बस्ती जलिरहँदा मधेशका मुख्यमन्त्री सरोजकुमार यादव काठमाडौंमा हुनुहुन्थ्यो । आगलागीले बस्ती नै सखाप भएको चार दिनपछि शनिबार निरीक्षण गर्न पुग्नुभएका मुख्यमन्त्री यादवले पीडितलाई राहतको आश्वासनसम्म दिन सक्नुभएन ।

आगलागीपीडितको अवस्था बुझ्न मुख्यमन्त्री यादवले खेलकुदमन्त्री सुरिता साह, ऊर्जा, सिँचाई तथा खानेपानी राज्यमन्त्री शेख मोहम्मद कलामलगायतको टोली लिएर पुग्नुभएको थियो । तर मुख्यमन्त्री र मन्त्रीहरू रित्तो हात पुगेको भन्दै पीडित आक्रोशित बनेका थिए ।

पीडितको आक्रोश सुनेपछि खेलकुद मन्त्री साहले आवश्यकताअनुसार सरकारले काम गर्ने बताउनुभयो । तर राहतका विषयमा कुनै स्पष्ट जवाफ दिन सक्नुभएन । सरकारले गरेको ढिलासुस्तीप्रति सांसद र पीडितहरूले भने आपत्ति जनाएका छन् । नागरिक विपद्मा पर्दा सरकारले कुनै सहयोग नगरेको आरोप उनीहरूको छ ।

महोत्तरीको मटिहानीमा भएको आगलागीबाट १ सय १० घर जलेका छन् । पीडित परिवारलाई अहिले नेपाली सेना र सशस्त्र प्रहरीले खाना खुवाउने गरेको छ । घरवास गुमाएकाहरु त्रिपालमुनि रात काट्न बाध्य छन् । पीडितलाई तत्काल राहत र पुनर्स्थापनाका लागि संघ र प्रदेश सरकारले तत्काल ठोस योजना बनाउनुपर्ने देखिन्छ ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।