काठमाडौं । वाल स्ट्रिट जर्नलका पत्रकार इभान गेर्शकोविचले आफूलाई जासुसी मुद्दामा हिरासतमा राखिएकोविरुद्ध गरेको अपिल मस्कोको एक अदालतले अस्वीकार गरेको छ । अदालतले उनीविरुद्ध लगाइएको मुद्दामा सुनुवाइको मिति पनि निर्धारण गरेको छैन । अदालतले उनलाई जुन ३० सम्म उनलाई हिरासतमा राख्न गत महिना नै अनुमति दिएको थियो । जुन ३० पछि मात्र उनको मुद्दामा सुनुवाइको मिति तय हुने वा थप हिरासतमै राखिने विषयमा अदालतले आदेश सुनाउने छ ।
दोषी प्रमाणित भए उनलाई २० वर्षको जेल सजाय हुन सक्छ । अपिल लिएर अदालतमा उपस्थित भएका बेला पत्रकारहरुले हाल खबर सोध्दा उनी मुस्कुराएका थिए । ३२ वर्षीय गेर्शकोविच एक वर्षदेखि मस्कोको लेफोर्टोभो कारागारमा छन् ।
उनले रुसी कारागारमा एक वर्ष बिताएको सम्झनामा वाल स्ट्रिट जर्नलले केही दिनअघि आफ्नो पहिलो पृष्ठ खाली राखेको थियो । रुसको मुख्य सुरक्षा सेवा एफएसबीले गेर्शकोविचले राज्यको गोप्य सूचनामा जासुसी गरेको आरोप लगाएको छ ।