युक्रेनी राष्ट्रपति जेलेन्स्कीविरुद्ध रुसले जारी गर्‍यो पक्राउ पुर्जी

वैशाख २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
युक्रेनी राष्ट्रपति जेलेन्स्कीविरुद्ध रुसले जारी गर्‍यो पक्राउ पुर्जी

काठमाडौं । रुसको आन्तरिक मन्त्रालयले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीविरुद्ध फौजदारी संहिता ऐन अन्तर्गत पक्राउ पुर्जी जारी गरेको रुसी सञ्चारमाध्यम तासले उल्लेख गरेको छ ।

तासका अनुसार रुसको आन्तरिक मन्त्रालयको डाटाबेसमा राष्ट्रपति जेलेन्स्कीलाई ‘मोस्ट वान्टेड’को सूचीमा राखिएको छ । उक्त डाटाबेसमा जेलेन्स्कीको जन्म २५ जनवरी १९७८ मा भएको र सन् २०१९ मा उनी युक्रेनको राष्ट्रपति बनेको विषय उल्लेख छ । त्यसबाहेक थप विवरण भने उल्लेख नगरिएको बताइएको छ ।

सन् २०२२ मा युक्रेन र रुसबीचको युद्ध सुरु भएयता रुसले थुप्रै युक्रेनी र युरोपेली नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध ‘वार क्राइम’ अन्तर्गत पक्राउ पुर्जी जारी गरेको अन्तर्राष्ट्रिय फौजदारी अदालतका संयोजकमाथि पनि रुसले पक्राउ पुर्जी जारी गरेको बताइएको छ ।

त्यस्तै युक्रेनी रक्षा मन्त्रालयको मुख्य खुफिया निर्देशनालय (जीयूआर)का उप प्रमुख भादिम स्किबिटस्कीले युद्धको मैदानमा युक्रेनले जित हासिल गर्न असम्भव रहेको बताएका छन् । सञ्चारमाध्यम ‘इकनोमिस्ट’लाई दिएको अन्तर्वार्तामा उनले युक्रनेलाई युद्ध जित्न असम्भव रहेको दाबी गर्दै द्वन्द्वको समाधान वार्तामार्फत मात्र सम्भव रहेको बताएका हुन् ।

उनका अनुसार ‘सार्थक वार्ता २०२५’ को मध्यमा मात्रै प्रारम्भ हुन सक्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.