इजिप्टको मध्यस्थतामा आज पनि युद्धविरामका लागि हमास र इजरायलबीच वार्ता हुँदै

पहिलो चरणमा ३३ बन्धक रिहा गर्न हमास सकारात्मक ।
वैशाख २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजिप्टको मध्यस्थतामा आज पनि युद्धविरामका लागि हमास र इजरायलबीच वार्ता हुँदै

काठमाडौं । हमास र इजरायलबीच कायरोमा भइरहेको अप्रत्यक्ष वार्तामा अहिलेसम्म कुनै प्रगति नभएको बताइएको छ । टुङ्गोमा पुग्न नसकेको अप्रत्यक्ष वार्ता आज पुनः सुरु हुने हमासले जनाएको छ ।

इजिप्टको कायरोमा मध्यस्थकर्ताहरूसँगको हिजो भएको वार्ताले कुनै ठोस परिवर्तन ल्याउन नसकेको बताइएको छ । तर हमासले इजरायलसँग गाजा सम्झौताको पहिलो चरण अन्तर्गत ३३ बन्धकलाई रिहा गर्न सहमत भएको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।

गाजामा जारी युद्धलाई पूर्ण वा आंशिक रुपमा विराम गर्ने विषय नै वार्ताको मुख्य मुद्दा रहेको जनाइएको छ । दुवै पक्षले आ-आफ्नो दाबी गर्दै आएका छन् । तर, ४० दिने संघर्ष विराम हुनसक्ने विषय सहमति नजिक पुगेको बताइएको छ ।

कायरो वार्तामा सहभागी अमेरिकी र इजरायली प्रतिनिधिहरूले गाजामा अस्थायी युद्धविराम र थप बन्धकहरूलाई रिहा गर्ने कुनै पनि सम्भावित सम्झौताका लागि थप वार्ता गर्नुपर्ने जनाएका छन् ।

हिजो भएको वार्तामा सम्भावित सम्झौताको प्राविधिक पक्षमा दुवै पक्ष सकारात्मक देखिएका छन् । तर, वार्ताका केही सहभागीका अनुसार हमासले पूर्ण युद्धविराम प्रस्तावलाई स्वीकार गरे पनि अन्य केही विषयमा भने सहमति हुन अझै समय लाग्ने जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.