भारत लोकसभा : राहुल गान्धीको ‘रायबरेली कार्ड’

वैशाख २३, २०८१ |प्रभात सिंह
भारत लोकसभा : राहुल गान्धीको ‘रायबरेली कार्ड’

काठमाडौं । कांग्रेस आईका नेता राहुल गान्धीले शुक्रबार उत्तर प्रदेशको रायबरेली निर्वाचन क्षेत्रबाट आफ्नो उम्मेद्वारी दर्ता गराए । उनले यसअघि केरेलाको वायानाडबाट पनि आफ्नो उम्मेद्वारी दर्ता गराएका थिए । सो निर्वाचन क्षेत्रको मतदान दास्रो चरण अर्थात् २६ अप्रिलमै समापन भइसेकेको छ । रायबरेली निर्वाचन क्षेत्रमा भने २० मेमा मतदान हुनेछ ।

राहुल गान्धीले रायबरेलीमा उम्मेद्वारी दिएसँगै आम जनताको मात्र होइन सत्ता पक्ष नेसनल डेमोक्रेटिक अलायन्स (एनडीए) र प्रधानमन्त्री नेरेन्द्र मोदीको समेत उनीमाथि थप चासो देखिएको छ । रायबरेलीमा राहुलको उम्मेद्वारीलाई लिएर एनडीएले चुनावी र्‍यालीमा आफ्नो मुद्दा नै बनाएको छ– राहुलले वायानाडका जनतालाई धोका दिए ।

कांग्रेसको गढ मानिएको अमेठीबाट सन् २०१९ को लोकसभा चुनावमा राहुल भापजा नेता स्मृति इरानीसँग हारेका थिए । त्यसअघिका तीन वटा लोकसभा चुनावमा राहुलले अमेठीबाट जितेका थिए । जुन क्षेत्र राहुलका पिता तथा पूर्वप्रधानमन्त्री राजीव गान्धीको आधार क्षेत्र थियो । सन् २०१९ मा अमेठीबाट पराजित भए पनि केरलाको वायनाडमा विजयी भई राहुल लोकसभामा पुगेका थिए । त्यसैले पनि राहुलले रायबरेलीबाट पनि उम्मेद्वारी दिएर वायानाडका जनतालाई धोका दिएको भन्दै भाजपा नेतृत्वको एनडीए गठबन्धनले चुनावी सभाहरुमा मुद्दा बनाएको छ ।

राहुलले वायनाडमा आफ्नो उम्मेद्वारी दर्ताका क्रममा त्यहाँका जनतालाई आफू रायबरेलीबाट पनि उम्मेद्वार हुने कुनै संकेत गरेका थिएनन् । जसलाई लिएर भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) नेतृत्वको लेफ्ट डेमोक्रेटिक फ्रन्ट (एलडीएफ) र केरेलामा कांग्रेसको कट्टर प्रतिस्पर्धी युनाइडेड डेमोक्रेटिक फ्रन्ट (यूडीएफ) ले तिखो प्रहार गरिरहेका छन् । सन् २०१९ कै चुनावमा समेत राहुल हिन्दीभाषी बहुल क्षेत्रबाट भागेर दक्षिणतिर आएको भन्दै जनताको मत आफूतिर तान्न कोसिस गरेका थिए ।

वायानाडमा चुनाव सम्पन्न भइसकेको छ । राहुल गान्धीले रायबरेलीबाट उम्मेद्वारी दर्ता गराए पनि वायनाडका राहुल समर्थित मतदाता निराश नभएको भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसले लेखेको छ । वायानाडको पुलपल्ली सहरका स्थानीय एमभी पाउलोसले रायबरेलीमा राहुलको उम्मेद्वारीबाट आफूहरु खुसी भएको प्रतिक्रिया दिएका छन् । उनले सन् २०१९ मा राहुललाई आफूहरुले जिताएको र यस पटक पनि जित्नेमा विश्वास व्यक्त गरे । यहाँका जनता उनको उम्मेद्वारीबाट निराश नरहेको र विगतमा पनि उनी दुईवटा निर्वाचन क्षेत्रबाट लडेकोले खासै फरक नपरेको उनले बताए ।

राहुलले वायानाडका जनतालाई उम्मेदवारी दर्ताका क्रममा आफ्नो दोस्रो घर भएको र त्यहाँका जनता आफ्ना दाजुभाइ–दिदीबहिनी रहेको बताएका थिए । राहुलको उम्मेद्वारी दर्ताका क्रममा हजारौं समर्थन सडकमा उत्रिएका थिए ।

त्यस्तै, इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल) वायनाडका कार्यकर्ता एमके अलीले रायबरेलीबाट राहुलको उम्मेद्वारीलाई स्वागत गरेको बताए । रायबरेलीमा राहुलको उम्मेद्वारीलाई लिएर भारतभरि नै चर्चा भइरहेको र उनको उम्मेद्वारीले ‘हिन्दी बेल्ट’मा समेत कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनलाई फाइदा पुग्ने अलीको विश्लेषण छ । ‘वायानाडबाट उम्मेद्वारी दिएलगत्तै राहुलले कुनै अर्को निर्वाचन क्षेत्रबाट पनि उम्मेद्वारी दिनेछन् भन्ने बारे सुरुदेखि नै चर्चा थियो । यो कुनै नौलो विषय थिएन,’ एमके अली भन्छन्, ‘रायबरेली निर्वाचन क्षेत्रमा के हुन्छ, त्यो विषयमा म केही भन्दिनँ तर राहुलले वायानाडबाट सानदार जित हासिल गर्छन् ।’

उत्तर प्रदेशको रायबरेली र अमेठी निर्वाचन क्षेत्र कांग्रेसको विरासत बोकेको क्षेत्रका रुपमा चिनिन्छ । रायबरेली पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी र अमेठी राजीव गान्धीको विरासत धानेका क्षेत्र हुन् । रायबरेली राहुलकी आमा सोनिया गान्धीले निरन्तर चुनाव जितिरहने क्षेत्र हो । सन् १९९९ देखि सन् २०१९ सम्मका सबै लोकसभा चुनावमा सोनियाले रायबरेलीमा जितेकी थिइन् ।

राहुल आफैं पनि अमेठीबाट तीन पटक लोकसभामा पुगिसकेका नेता हुन् । त्यसैले राहुलले दोस्रो निर्वाचन क्षेत्र छान्दा अमेठी नै छान्नेछन् भन्ने धेरैको अनुमान थियो । सन् २०१४ को लोकसभामा राहुलले अमेठीमा भाजपाकी स्मृति इरानीलाई हराएका थिए । तर, सन् २०१९ को लोकसभामा राहुललाई स्मृति इरानीले पराजित गरिन् । अहिले नेता स्मृति इरानीले समेत राहुललाई अमेठीमा चुनाव लड्न आउन चुनौती दिँदै आएकी थिइन् । तर, राहुलले अमेठी नभएर रायबरेली निर्वाचन क्षेत्र छाने र कांग्रेसले अमेठीमा गान्धी परिवार निकट मानिने किशोरीलाल शर्मालाई उम्मेद्वार बनायो ।

राहुलले रायबरेली छानेपछि भाजपाका नेताहरुले स्मृति इरानीसँग हार्ने डरले सुरक्षित हुन रायबरेली गएको भन्दै प्रहार गरिरहेका छन् । र, रायबरेलीमा पनि राहुललाई हार चखाउने बताइरहेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीलाई टक्कर दिने विपक्षी गठबन्धनका नेताका रुपमा राहुल गान्धीकै नाम अगाडि आउँछ । त्यस्तो नेताले उत्तर प्रदेशमा आफूलाई केन्द्रित गर्नु भाजपाका लागि टाउको दुखाइको विषय बनेको एकथरी विश्लेषण छ ।

राजनीतिक विश्लेषकहरुले राहुलले अन्तिम समयमा रायबरेली छान्नुलाई कांग्रेसको सुझबुझपूर्ण र रणनीतिक चालका रुपमा लिएका छन् । राहुलको ‘रायबरेली कार्ड’ले भाजपालाई केही धक्का मिल्ने इन्डिया गठबन्धनको अनुमान छ । यदि, राहुल अमेठी गएको भए मोदी समर्थित अधिकांश मिडियाले ‘राहुल भर्सेस स्मृति’को नारालाई जबर्जस्त स्थापित गरिदिन्थे, जबकि भारतीय राजनीतिमा यतिबेला ‘राहुल भर्सेस मोदी’को भाष्य स्थापित छ । र, अर्को विश्लेषण यो पनि छ कि, भाजपाले राहुल अमेठी आउनसक्ने आँकलन गरेर सबै शक्ति र संयन्त्र अमेठीमा एकतृत गरेको थियो, राहुलले रायबरेली छानेपछि भाजपालाई नयाँ रणनीति बनाउन अब हम्मेहम्मे पर्नेछ ।

लोकसभा चुनावमा उत्तर प्रदेश महत्वपूर्ण कडीका रुपमा रहेको छ । ८० सिट रहेको उत्तर प्रदेशमा सन् २०१९ को लोकसभामा भाजपा एक्लैले ६२ सिट जितेर दबदबा कायम राखेको थियो । जहाँ कांग्रेसबाट १ सिट सोनिया गान्धीले रायबरेलीमै जितेकी थिइन् । यसपटक उत्तर प्रदेशमा भाजपालाई खुम्च्याउने उद्देश्यसहित इन्डिया गठबन्धन जोडतोडले भिडेको छ । उत्तर प्रदेशमा भाजपाबाट जति सिट खोस्न सके पनि त्यो इन्डिया गठबन्धनका लागि फाइदाको कुरा हुनेछ । पूर्वमुख्यमन्त्री अखिलेश यादव नेतृत्वको समाजवादी पार्टीसँग सहकार्य गरिरहेको कांग्रेसले उत्तर प्रदेशमा पहिलाको तुलनामा केही प्रगति गर्नसक्ने आँकलन छ । समाजवादी पार्टीले सन् २०१९ को लोकसभामा उत्तर प्रदेशमा ५ सिट जितेको थियो ।


Image

प्रभात सिंह

सिंह कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।