मध्यपूर्वमा बढ्यो आणविक युद्धको जोखिम

इरानको आणविक केन्द्रमा इजरायलको जवाफी आक्रमण
थप प्रतिकार गर्ने इरानको चेतावनी
वैशाख ७, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
मध्यपूर्वमा बढ्यो आणविक युद्धको जोखिम

काठमाडौं । इजरायलले इरानमाथि क्षेप्यास्त्र र ड्रोनमार्फत जवाफी आक्रमण गरेपछि मध्यपूर्वमा थप युद्धको खतरा बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तर्राष्ट्रिय समुदायहरुले संयमता अपनाउन गरेको आग्रहलाई बेवास्ता गदै इजरायलले हमला गरेपछि इरान-इजरायल युद्ध चर्कने स्थिति देखिएको हो । आज इजरायलले इरानको इस्फहान प्रान्तस्थित परमाणु केन्द्रलक्षित हमला गरेको हो । तर, परमाणु केन्द्रमा भने कुनै क्षति नपुगेको अल-जजिराले जनाएको छ ।

इरानले पनि इजरायलको परमाणु केन्द्रलक्षित हमला गर्ने संकेत गरेको छ । इजरायलको युद्ध मन्त्रिपरिषद्ले गत बुधबार इरानमा आक्रमण गर्ने योजनामा सहमति जनाएपछि इरानले पनि इजरायलको परमाणु केन्द्रलक्षित आक्रमण गर्ने चेतावनी दिएको थियो । इरानका सेना प्रमुख मेजर जनरल अब्दुल रहिम मौसावीले इजरायलले कुनै हमला गरे आफूहरु चुपचाप नबस्ने चेतावनी दिँदै आफ्नो आणविक नीतिमा संशोधन गर्ने संकेतसमेत दिएका थिए ।

त्यस्तै इरानको न्युक्लियर सेफ्टी एन्ड सेक्युरिटी क्रप्सका प्रमुख जनरल अहमद हक तालबले इरानको आणविक केन्द्रमा इजरायलले आक्रमण गरे तेहरानले आफ्नो आणविक सिद्धान्त र नीतिहरू परिवर्तन गर्न सक्ने र इजरायलको आणविक केन्द्रमा पनि आक्रमण गर्ने चेतावनी दिएका थिए ।

इरानले दिएको चेतावनी बाबजुद इजरायलले आज हमला गरेपछि परमाणु युद्धको खतरा चुलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दूतावासमा इजरायलले हमला गरेपछि इरानले त्यसको जवाफी कारबाहीमा गत शनिबार तीन सयवटा ड्रोन र क्षेप्यास्त्रले इजरायलमाथि हमला गरेको थियो ।

त्यसपछि इरानले आफूहरुले युद्धभन्दा पनि हमलाको जवाफ मात्र दिएको बताएको थियो । तर, इजरायलले उक्त हमलाको पुनः प्रतिकार गरे चुप लागेर नबस्ने र परिणाम ठूलै हुने संकेत इरानले दिएको थियो ।



Enter Kantipur TV HD
Advertisement