काठमाडौं । युक्रेनको ओडेसास्थित बन्दरगाहको हुलाक डिपोमा रुसले ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।
आक्रमणमा १४ जना घाइते भएका छन् । एकको अवस्था सिकिस्त छ । आक्रमणमा हुलाक डिपोका अधिकांश भाग ध्वस्त भएको छ ।
ओडेसाका मेयर हेन्नाडी ट्रुखानोभले आज सामाजिक सञ्जाल टेलिग्राममार्फत रुसको आक्रमणपछि भएको आगलागीको भिडियो सार्वजनिक गरेका हुन् । मेयरले जारी गरेको भिडियोमा आगलागीसँगै बाक्लो धुवाँ निस्किएको देखिएको छ ।
अग्नि नियन्त्रक विभागका कर्मचारीहरुले आगो निभाउने प्रयासलाई जारी राखेको मेयरले जनाएका छन् । रुसले भने आक्रमणबारे कुनै आधिकारिक जानकारी दिएको छैन ।
ओडेसा क्षेत्रमा रुसले गरेको आक्रमणमा दुई दिनभित्रै आठ जनाको मृत्यु भएको बताइएको छ ।