डढेलोले बढायो वायु प्रदूषण

वैशाख २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
डढेलोले बढायो वायु प्रदूषण

काठमाडौं । देशका विभिन्न स्थानमा भइरहेको डढेलोका कारण पछिल्लो समय वायु प्रदूषण पनि उच्च भएको छ । वातावरण विभागका अनुसार वायु प्रदूषण कम हुन पानी पर्नुपर्छ । तर अझै दुई दिन पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

वातावरण विभागका अनुसार नेपालमा केही दिनयता वायुको गुणस्तर अर्थात् एयर क्‍वालिटी इन्डेक्स-एक्यूआई उच्च मापन हुन थालेको छ । देशका विभिन्न स्थानमा एक्यूआई १५१ देखि २०० सम्म रहेको छ । ललितपुरको भैंसेपाटीमा आज एक्यूआई ४१० सम्म मापन भएको छ ।

यो स्वास्थ्यका लागि निकै खतरनाक मानिन्छ । यसले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । एक सयभन्दा कम एक्यूआईलाई मात्र औसत मानिन्छ । पछिल्लो समय देशका विभिन्न स्थानमा भइरहेको डढेलोका कारण वायू प्रदूषण उच्च रहेको र घटाउन वर्षा हुनुपर्ने वातावरण विभागका सूचना अधिकारी दीपक ज्ञवालीको भनाइ छ ।

तर, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारसम्म वर्षा हुने सम्भावना छैन । पश्चिमी वायु प्रणाली विस्तारै भित्रिँदै गएकाले शनिबारदेखि बदली भई अर्को सातादेखि केही स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर बताउनुहुन्छ । त्यसमा पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षाको बढी सम्भावना छ ।

वायुको गुणस्तर खराब रहेकाले काम नपरी घरबाहिर ननिस्कन तथा निस्कनै परेमा मास्क लगाउन स्वास्थ्य मन्त्रालयले सुझाएको छ । यस्तो समयमा दीर्घरोगीले अझ बढी सावधानी अपनाउनुपर्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.