सरकार सहकारीका ठग बचाउने काममा लाग्यो : कांग्रेस

‘संसद् सञ्चालनमा सभामुखको भूमिका पनि तटस्थ भएन’
जेष्ठ ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकार सहकारीका ठग बचाउने काममा लाग्यो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार सहकारीका ठग बचाउने कार्यमा लागेको आरोप लगाएको छ । सहकारी ठगीबाट पीडित भएका नागरिकप्रति गैरजिम्मेवार र संवेदनहीन हुँदै सहकारीका ठग बचाउने कार्यमा सरकार लागेको कांग्रेसले आरोप लगाएको हो ।

आज संसद् भवन परिसरमा बसेको कांग्रेसको संसदीय दलको बैठकले सरकार र सत्ता पक्षलाई जनहित विरोधी कार्यमा नलाग्न चेतावनी दिने निर्णय गरेको पनि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनु भयो ।

लेखकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारीमा बचत गरेको अर्बौँ रकम हिनामिना, अपचलन र दुरुपयोगमा संलग्न रहेको पर्याप्त आधारहरू आफूहरूसँग हुँदाहुँदै पनि संसदीय छानबिन समिति बनाउन सरकार तयार नहुनुले झनै बलियो आधार प्राप्त भएको बताउनु भयो ।

‘संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रूपले पुष्टि हुँदै आएको छ । नेपाली कांग्रेस संसदीय दलको यो बैठक संसदीय छानबिन समिति गठन गर्न पुनः जोडदार माग गर्दछ,’ उहाँले भन्नुभयो, ‘नेपाल सरकार सहकारी ठगीबाट पीडित भएका नागरिक प्रति गैरजिम्मेवार र संवेदनहीन हुँदै सहकारीका ठग बचाउने कार्यमा लागेको यो बैठक ठहर गर्दछ । सरकार र सत्ता पक्षलाई जनहित विरोधी यस्ता कार्यमा नलाग्न चेतावनी दिन चाहन्छ ।’

प्रतिनिधिसभाको बैठक सञ्चालनको विषयलाई पनि आफूहरूले गम्भीरतापूर्वक हेरिरहेका प्रमुख सचेतक रमेश लेखकले बताउनु भयो । संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनुपर्ने भन्दै उहाँलाई सभामा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरी संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासलाई कायम राख्न आग्रह गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.