भोलिदेखि डिजिटल कर्णाली कन्क्लेभ, तयारी पूरा

फाल्गुन १७, २०८० |कान्तिपुर टीभी संवाददाता
भोलिदेखि डिजिटल कर्णाली कन्क्लेभ, तयारी पूरा

काठमाडौं । डिजिटल कर्णाली कन्क्लेभ २०२४ आयोजना हुने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आईसीटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा भोलिदेखि हुने दुईदिने कन्क्लेभमा ४० भन्दा बढी सरोकारवाला र विज्ञहरु वक्ताका रुपमा सहभागी हुँदै छन् ।

कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्टको थिममा केन्द्रित रहने कार्यक्रममा अन्य प्रदेशबाट सम्बन्धित मन्त्री र सचिवहरुको पनि उपस्थिति रहनेछ । यसैगरी संघीय सरकार र सूचना तथा सञ्चार प्रविधि क्षेत्र सम्बन्धित सरोकारवालाहरुको कार्यक्रममा उपस्थिति रहनेछ । कार्यक्रममा प्रदेशका पूर्वमुख्यमन्त्रीहरुको पावर सेसन छ भने सम्पूर्ण स्थानीय पालिका र जिल्लाबाट सरकारी र अन्य सरोकारवालाहरुको कार्यक्रममा सहभागिता रहने अपेक्षा गरिएको छ ।

कन्क्लेभमा चारवटा किनोट प्रस्तुति र ६ वटा प्यानल सेसन छन् । भोलि (शुक्रबार) हुने उद्घाटन सत्रमा डिजिटल कर्णालीको सोच र नेतृत्व विषयमा पूर्वमुख्यमन्त्रीहरुको पावर सेसन मनोहरकुमार भट्टराईको कर्णालीका लागि डिजिटल रुपान्तरणका समाधान र इकोसिस्टम विषयमा किनोट प्रस्तुति रहनेछ । यसैगरी कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाही, विद्युतीय सुशासन आयोगका सीइओ दीपेश विष्ट, न्यास आईटीका अध्यक्ष रिचन श्रेष्ठसँगै यूएनडीपी, नेपाल दूरसञ्चार प्राधिकरण, पीएलजीएसपी र एसिया फाउन्डेसनका तर्फबाट कार्यपत्र प्रस्तुति हुनेछ ।

पहिलो दिन उद्घाटनपछिको सत्रमा डिजिटल पूर्वाधार र कनेक्टिभिटी र डेटा, डिजास्टर र डेभलपमेन्ट विषयमा प्यानल सेसनहरु सञ्चालन हुनेछन् । दोस्रो दिनको पहिलो सत्रमा डिजिटल अभियान, आइडिया र प्रविधिबारे प्रस्तुति रहनेछ । कर्णाली प्रदेशको कृषि, पर्यटन, शिक्षा, स्वास्थ, डिजिटल पहुँचलगायत आइडियाहरु प्रस्तुत हुनेछन् । यसैगरी डिजिटल अर्थव्यवस्था र लगानीको वातावरण सम्बन्धमा प्रस्तुति र प्यानल सेसन सञ्चालन हुनेछ ।

कर्णालीलाई प्रविधिका माध्यमबाट विकाससँग जोड्ने र डिजिटल रुपान्तरणको बाटोमा डोर्याउन कन्क्लेभ फलदायी हुने आयोजक संस्थाहरुको दाबी छ । दुईदिने कन्क्लेभले प्रदेशका लागि डिजिटल रोडम्याप बनाउन सहयोग पुर्याउने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जीसीको प्रतिबद्धता छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.