सूर्यदर्शन सहकारीको बचत हिनामिनामा रवि लामिछानेको संलग्नता कागजातबाटै पुष्टि

सीआईबीले तयार पारेको प्रतिवेदन गृहमन्त्री भएपछि लुकाइयो
वैशाख २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सूर्यदर्शन सहकारीको बचत हिनामिनामा रवि लामिछानेको संलग्नता कागजातबाटै पुष्टि

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी मात्र होइन, पोखराको सूर्यदर्शन सहकारीको बचतसमेत हिनामिना गरेको पुष्टि भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लामिछानेले सूर्यदर्शन सहकारीबाट रकम लिएको भन्दै तयार पारेको प्रतिवेदन उहाँ गृहमन्त्री भएपछि लुकाइएको थियो तर, पोखरा महानगरले गठन गरेको छानबिन समितिले पनि लामिछाने आफैँले माग फाराम भरेर सहकारीबाट रकम उठाएको प्रमाणसहित प्रतिवेदन बुझाएको छ । 

१८ हजार ७ सय बचतकर्ता रहेको सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड रकम अपचलनमा गत वर्ष मुद्दा दायर गर्दा लामिछानेसहितको नाम प्रहरीले योजनाबद्ध रूपमा छुटाएको थियो । तर, पीडित बचतकर्ताले अनुसन्धान र न्यायको माग गर्दै गत माघ २२ मा पूरक जाहेरी दिएपछि सीआईबीको टोली पोखरा पुगेर अनुसन्धानमा खटिएको थियो । लामिछानेसहितका ‘शंकास्पद ऋणी’ ले सूर्यदर्शन सहकारीबाट अनियमित रूपमा कर्जा लिएको भन्दै सीआईबीले थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । तर, लामिछाने गृहमन्त्री भएपछि सो प्रतिवेदन लुकाइएको छ । 

आफूमाथि प्रश्न उठेको प्रतिवेदन सत्ता र शक्तिको आडमा गृहमन्त्री लामिछानेले दबाएपछि पीडित बचतकर्ताले न्यायको माग गर्दै आन्दोलन गर्दै आएका छन् । पीडितहरूको मागकै आधारमा पोखरा महानगरले छानबिन समिति गठन गरेको थियो । गितेन्द्रबाबु-जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्क प्रालिमा लामिछाने प्रबन्ध निर्देशक भएका बेला सूर्यदर्शन सहकारीबाट ३० करोड रुपैयाँ सारिएको तमसुक मात्र होइन, लामिछाने स्वयंका नाममा खाता खोलेर सहकारीबाट एक करोड रुपैयाँ ऋण निकालेको प्रमाण पनि छानबिन समितिले फेला पारेको छ । 

वित्तीय विश्लेषणका क्रममा फेला परेको कर्जा माग फारामको फोटोकपी प्रतिवेदनमा राखिएको छ । रवि लामिछानेको मागअनुसार एक करोड रुपैयाँ गएको र पैसा कहाँ गयो, कुन मितिमा, कुन चेकबाट पैसा गयो भनेर पनि प्रतिवेदनमा लेखिएको छ । 

पोखरा महानगरको छानबिन समिति र सीआईबीको अनुसन्धानले एउटै विषय पुष्टि गरेका छन् । लामिछाने गृहमन्त्री भएपछि लुकाइएको सीआईबीको प्रतिवेदनमा सूर्यदर्शनका ८७ ‘शंकास्पद ऋणी’ को सूचीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको नाम ६ र २६ नम्बरमा, रवि लामिछानेको नाम १९ नम्बरमा, गितेन्द्रबाबु राईको नाम २१ नम्बरमा छ । पुनले दुई पटक गरेर एक करोड, लामिछानेले चेक तथा नगदबाट एक करोड लिएका छन् ।  

त्यस्तै जीबी राईले गोर्खा मिडिया नेटवर्क सञ्चालन गर्न सूर्यदर्शनबाट ३० करोड लिएकाले त्यसबापतको सेयर दिने भनेर छुट्टै तमसुक गरेका छन् । राई फरार छन् भने गृहमन्त्री रहेका लामिछानेले आफूमाथि छानबिन हुनै नसक्ने अडान लिँदै आएका छन् ।

सम्बन्धित समाचार...

रविजी कति पटक भनिरहने ‘नाइ मलाई थाहा छैन’ ?

सुप्रिम सहकारी ठगी : दीपेश पुन र जीबी राईलाई मुद्दा, रविलाई उन्मुक्ति

सुप्रिम सहकारीबाट रवि लामिछानेको खातामा १ करोड ८० लाख, प्रतिवादी भने बनाइएन (अभियोजनसहित)

सहकारी ठगी प्रकरण : प्रमाण पर्याप्त, रविलाई प्रतिवादी नबनाउँदा सरकारी संयन्त्रमाथि नै प्रश्न


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.