काठमाडौं । उत्कृष्ट ब्याटिङ र फिल्डिङको मदतमा रोयल च्यालेन्जर्स बैङलुरुले इन्डियन प्रिमियर लिग आइपिएलमा पन्जाब किंग्सलाई ६० रनले पराजित गरेको छ । लगातार चौथो जीत हात पारेसँगै बैङलुरुको प्ले अफ सम्भावना जीवितै रहँदा पन्जाब भने लिग चरणबाटै बाहिरियो ।
धर्मशालामा पंजाबले टस जितेर फिल्डिङ रोजेको थियो । बैङलुरुले २० ओभरमा सात विकेट गुमाएर २ सय ४१ रनको योगफल बनाउँदा विराट कोहलीले विस्फोटक इनिङस खेले । ओपनर तथा कप्तान फाप डु प्लेसिस ९ र विल ज्याक्स १२ रनमा आउट भएका थिए । सुरुवातमै कोहलीको क्याच ड्रप गर्नु पन्जाबका लागि महँगो साबित भयो ।
दुई पटक पाएको जीवनदानलाई कोहलीले भरपुर सदुपयोग गरे । तेस्रो विकेटका लागि कोहली र रजत पाटिदारले ७६ रनको साझेदारी गरे । दश ओभरपछि वर्षाका कारण केही समयका लागि खेल रोकिएको थियो । तर पानीले खेललाई असर गरेन । पाटिदारले २३ बलमा ५५ रन जोडे । कोहलीले ४७ बलमा ९२ रनको योगदान गरे । क्यामरुन ग्रिनले ४६ र दिनेश कार्तिकले १८ रन थपे । हर्षल पटेलले तीन विकेट लिए ।
जवाफमा पन्जाब १७ ओभरमा १ सय ८१ रनमा अल आउट भयो । उसका लागी राइली रस्सोले ६१ र शसांक सिंहले ३७ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । मोहम्मद सिराजले तीन, लक्की फुर्गसन, स्वप्निल सिंह र कर्ण शर्माले दुई दुई विकेट लिए । बैङलुरु १२ खेलबाट १० अंक जोड्दै तालिकाको सातौँ स्थानमा छ ।
प्ले अफ दौडबाट बाहिरिएको पंजाब १२ खेलबाट ८ अंक सहित नवौँ स्थानमा छ । आईपीएलमा आज गुजरात टायटन्स र चेन्नाई सुपर किंग्स बीच खेल हुनेछ ।