हिमाल जाने बाटो : अन्नपूर्ण प्रथम, आकर्षक तर चढ्न कठिन

वैशाख १५, २०८१ |भरत रावल
हिमाल जाने बाटो : अन्नपूर्ण प्रथम, आकर्षक तर चढ्न कठिन

काठमाडौं । नेपालमा हिमाल आरोहण सुरु भएको ७४ वर्ष भएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्जोनले पहिलो पटक ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए । भौगोलिकरुपमा अन्य हिमालभन्दा फरक र आरोहण गर्न चुनौतीपूर्ण मानिएको यो हिमाललाई किलर माउन्टेन पनि भनिन्छ । अर्थात् पाकिस्तानको के टु हिमालपछि नेपालको अन्नपूर्ण प्रथममा आरोहीको मृत्यु बढी भएको तथ्यांक छ । कतिपय ठाउँमा त यो हिमाल आरोहण गर्न के टुभन्दा पनि जटिल छ । यही कारण यो हिमाल आरोहणको महत्व छुट्टै छ ।

५५ किलोमिटर लामो अन्नपूर्ण हिमशृङ्खलामध्येमा पर्ने १३ हिमालमध्ये सबैभन्दा अग्लो हो- अन्नपूर्ण प्रथम । ८ हजार ९१ मिटरको यो विश्वको १० औं अग्लो हिमाल हो भने नेपालको नवौं । अन्नपूर्ण हिमशृङ्खलामा ७ हजार मिटरमाथिका १३ वटा हिमाल छन् । अन्नपूर्ण प्रथम नेपालमै सबैभन्दा पहिले आरोहण भएको हिमाल हो । त्यस कारण यसलाई जेठे हिमाल पनि भन्ने गरिन्छ । सन् १९५० मा करिब २ सय ५० जना सहयोगीसहित सुनवल नाका हुँदै नेपाल आएका फ्रान्सेली नागरिक मौरिस हर्जोनले पहिलो पटक अन्नपूर्ण आरोहण गरेका थिए । विश्वकै चुनौतीपूर्ण र नेपालकै जेठो हिमाल भए पनि यो हिमाललाई राज्यले उपेक्षा गरेको स्थानीय बताउँछन् ।

हर्जोनले आरोहण गरेको २७ वर्षपछि मात्रै सन् १९७७ मा नेपालीले आरोहण गरेका थिए । अन्नपूर्णको आरोहण गरी फर्किएका मौरिस हर्जोन फ्रान्सको युवा तथा खेलकुदमन्त्री भएका थिए । उनले ३० पटक नेपालको भ्रमण गरे र अन्नपूर्ण हिमालको प्रचारप्रसारमा पनि उत्तिकै सक्रिय रहे । आरोहण सुरु भएको ७४ वर्षमा ४ सयभन्दा बढीले यो हिमाल चढिसकेका छन् । यो हिमाल जति सुन्दर छ, आरोहण गर्न त्यति नै चुनौतीपूर्ण छ । अन्नपूर्णको उत्तरी मोहडा हिमपहिरोको खतरा हुने ठाउा मानिन्छ । सन् २०१४ मा आँधीका कारण आरोहणमा गएका ३९ जनाको एकै पटक ज्यान गएको थियो । प्रत्येक एक सय आरोहीमा ३२ जनाको ज्यान जाने गरेको तथ्यांक छ ।

कठिन भौगोलिक बनावटका कारण यो हिमाल आरोहण गर्नेभन्दा पनि अन्नपूर्ण पद यात्रा गर्ने धेरै हुन्छन् । पदयात्रा जानेहरुले ३ वटा रुट अर्थात् बाटोको प्रयोग गर्छन् । जसमा जोमसोम ट्रेक, अन्नपूर्ण आधार शिविर ट्रेक र अन्नपूर्ण सर्किट अर्थात् अन्नपूर्णको फन्को मार्ने बाटो पर्दछन् ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।