पर्यटनका लागि रेसुङ्गा, सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री दाहाल

वैशाख २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
पर्यटनका लागि रेसुङ्गा, सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ ।

‘जाउँ हिँड रेसुङ्गा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले रेसुङ्गा ऐतिहासिक, धार्मिक, पौराणिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदा भएको बताउनुभयो ।

‘यो शान्त, मनोरम, पावन तपोभूमि र धार्मिक धामसमेत हो,’ उहाँले भन्नुभयो, ‘यहाँ रहेका रेसुङ्गा यज्ञस्थल, सिद्धस्थान, शशिधर स्वामीको आश्रम, महापोखरी, सीतारामको मन्दिर, मनकामना मन्दिरजस्ता स्थलहरूको एकैपटक अवलोकन गर्न सकिन्छ, त्यसैले यस क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र हो ।’

पर्यटन क्षेत्रको विकासमा तीनै तहका सरकार थप क्रियाशील हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले गैरसरकारी तथा समुदायिक क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रको विकास र विस्तार गर्न सकिने बताउनुभयो । उहाँले रेसुङ्गा क्षेत्रको समग्र विकासका लागि संघीय सरकारबाट आवश्यक सहयोग हुने विश्वास दिलाउनुभयो ।

वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको उल्लेख गर्दै दाहालले पर्यटन बहुआयमिक सम्भावनाहरूको नेतृत्व गर्ने क्षेत्र भएको बताउनुभयो ।

उहाँले पछिल्लो समय देशव्यापी रूपमा आगलागी फैलिएको र गुल्मीमा पनि आगलागीबाट ठूलो क्षति पुगेकोप्रति गहिरो दुःख व्यक्त गर्नुभयो । उहाँले पीडितहरूका पक्षमा सरकारको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त व्यक्त गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.