काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन भोलि सुरु हुँदै छ । तर, संसद्को अवरोध हटाउने विषयलाई लिएर सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकहरुबीचको छलफल निष्कर्षविहीन भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विधेयक अधिवेशनदेखि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा संलग्नको मुद्दालाई बजेट अधिवेशनमा पनि उठाउने भनेपछि सहमति सभामुख र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकबीचको बैठक सहमतिविना टुंगिएको हो ।
सत्ता र विपक्षी नेपाली कांग्रेस दुवै आ-आफ्नो अडानमा रहँदा बजेट अधिवेशन सहज सञ्चालन हुनेमा अन्योल देखिएको छ ।
बजेट अधिवेशनको पहिलो बैठकमा शुक्रबार सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यतालिकामा भने दलहरु सहमत भएका छन् । बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।