काठमाडौं । युएईसँग ६ विकेटले पराजित नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । यससँगै युएई एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।
अल अमरेत मैदानमा नेपालले २० ओभरमा नौ विकेट गुमाएर एक सय १९ रन बनाएको थियो । यूएईले टस जितेर पहिले फिल्डिङ गर्ने भएपछि नेपालले सुरुआतमा ब्याटिङको निम्तो पाएको हो । नेपालको ओपनिङमा कुलश भुर्तेल र आशिफ शेख आएका थिए । तर कुशल भुर्तेल रोयल डक भए । उनी लगातार दोस्रो खेलमा शून्यमा आउट भएका हुन् ।
आशिफ, प्रिमियर कपमा नेपाली टोलीको लागि सर्वाधिक रनकर्ता भए पनि आज ८ रनमै आउट भए । पावर प्ले सकिँदा नेपालले दुई विकेट गुमाएर ३० रन बनाएको थियो । कप्तान रोहित पौडेलले १७ बलमा पाँच रन मात्र बनाए । चार विकेट गुमाउँदा नेपाल ५० रन मात्र बनाएको कमजोर अवस्थामा थियो ।
कुशल मल्ल तीन र दीपेन्द्र सिंह ऐरी पाँच रनमै पवेलियन फर्किए । सन्दीप जोराले मात्र नेपालको लागि अर्धशतकीय पारी खेले। सन्दिपले ४० बलमा ५० रनको योगदान गरे ।
नवौं नम्बरमा मैदान प्रवेश गरेका करण केसीले १७ रन जोडे भने गुल्सन झाले २० रन बनाए । युएईका अलि नासर, बसिल हमिद र जुनैद सिद्दकले दुई-दुई विकेट लिएका थिए । ओमिद रहमान, आयान अफजल खान र मुहम्मद फारुकले समान एक-एक विकेट लिए ।
जवाफमा युएईले १७ ओभर दुई बलमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो । सोमपाल कामीले वासिमलाई दोस्रो ओभरमा आउट गरे । वासिम ११ रन बनाएर पवेलियन फर्किए । विष्णु सुकुमरनलाई सात ओभर पाँच बलमा गुल्सनले क्याचआउट गराएर । व्यक्तिगत २८ रन बनाएर विष्णु आउट हुँदा युएईले दुई विकेट क्षतिमा ५४ रन बनाइसकेको थियो ।
आशिफ खान १० रन बनाएर आउट भए । सयद हैदरले १४ रन बनाए भने आलिशान सराफू ५३ रनमा अविजित रहे। नेपालको लागि गुल्सन झाले दुई विकेट लिए भने सोमपाल कामी र ललितले एकएक विकेट बाँडे ।