काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिनुभएको छ ।
कर्णाली प्रदेश सभाको बिहीबार बसेको बैठकमा कँडेलको पक्षमा २३ मत परेको छ । यसैगरी विपक्षमा १२ मत पर्दा राप्रपाका एक सांसद तटस्थ बसेका छन् । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले मुख्यमन्त्री कँडेलले बहुमत सदस्यको मत पाएको घोषणा गर्नुभयो ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एक/एक सांसद छन् । बहुमतका लागि एमाले र माओवादी केन्द्रको मात्रै संख्या पनि पर्याप्त छ ।
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका कँडेल गत चैत २७ गते नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री कँडेलले हिजो माओवादी केन्द्रका रणसिंह परियारलाई विनाविभागीयमन्त्री नियुक्त गर्नुभएको थियो । सत्ता साझेदार दल माओवादी केन्द्रसँग सहमति नजुट्दा कर्णाली प्रदेश सरकारले अझै पूर्णता पाएको छैन ।
आज विश्वासको मत लिएसँगै मुख्यमन्त्री कँडेलले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नुभएको छ ।