सत्ता-प्रतिपक्ष संवादहीनताले खेर गयो संसद्‌का १० दिन, अवरोध हटाउन भएन पहल

आइतबारको बैठक प्रभावित हुने संकेत
चैत्र १६, २०८० |दशरथ राई
सत्ता-प्रतिपक्ष संवादहीनताले खेर गयो संसद्‌का १० दिन, अवरोध हटाउन भएन पहल

काठमाडौं । सभामुख देवराज घिमिरे स्विट्जरल्यान्डको जेनेभामा भएको अन्तरव्यवस्थापिका संघ (आईपीयू) को महासभामा भाग लिएर १० दिनपछि आज (शुक्रबार) फर्किएका छन् । उनी स्विट्जरल्यान्ड जानुअघि नेपाली कांगेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रतिनिधिसभामा अवरोध गर्दै आएको थियो ।

पर्सि (आइतबार) संसद् बैठक बोलाइए पनि कांग्रेसको अवरोध कायमै रहने देखिएको छ । यसबीचमा दलहरुबीच संवादको कुनै पहलै भएन । बैठकको एजेन्डाका विषयमा पनि संसद् सचिवालय अन्योलमा छ ।

सभामुख देवराज घिमिरे स्विट्जरल्यान्ड जानुअघि नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको थियो । सभामुख भ्रमण सकेर स्वदेश फर्किइसकेका छन् । यसबीचमा संसद्‌मा देखिएको गतिरोध हटाउन कुनै पहल भएको छैन । स्वदेश फर्किएपछि उनले गतिरोध हटाउन पहल गर्ने प्रतिबद्धता त जनाएका छन्, तर, अहिलेसम्म संवाद नभएका कारण आइतबारको बैठकसमेत सहज हुने संकेत छैन ।

यसबीचमा न त दलका शीर्ष नेताहरुले नै सदनको अवरोध हटाउने विषयमा कुनै छलफल नै गरे । भ्रमणकै समयमा सभामुख घिमिरले भर्चुअल माध्यमबाटै पहल गर्न सक्थे । तर उनले त्यसो गरेनन् । त्यही कारण प्रतिनिधिसभा बैठक स्थगित गरिएको १० दिनको समय त्यतिकै खेर गयो । बैठक सञ्चालनका विषयमा दलहरुबीच कुनै पहल नहुँदा संसद् सचिवालय एजेन्डामा स्पष्ट हुन सकेको छैन ।

सभामुख घिमिरेले शनिबार सदनमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका छन् । तर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामै मागिरहेका कारण उक्त बैठकमा पनि निकास निस्कने देखिँदैन । यसका लागि सभामुखले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श गरेर टुंगोमा पुग्नुपर्छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले शीर्ष तहमा सुल्झाउनुपर्ने विषय निर्णय गर्न नसक्ने भएकाले पनि मुख्य दलहरुमै निर्भर रहनुपर्ने बाध्यता छ ।

संसद्ले गर्नुपर्ने महत्त्वपूर्ण काम अघि बढ्न सकेका छैनन् । थुप्रै कानुन पारित गर्नुपर्नेछ । यसका लागि संसद्‌मा अहिले देखिएको गतिरोध हटाउन सबै दल एउटा निष्कर्षमा पुग्नैपर्ने हुन्छ । तर छलफल गर्नै भएको ढिलासुस्ती र आलटालले संसद्को चालु अधिवेशन पनि अलमलमै बित्ने देखिएको छ ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement