सहकारी ठगी प्रकरण : पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश रिहा

वैशाख १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारी ठगी प्रकरण : पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश रिहा

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश धरौटीमा रिहा भएका छन् ।

उनी आज जिल्ला अदालत रुपन्देहीमा चार लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । 

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा गत वैशाख ७ गते जिल्ला अदालत रुपन्देहीका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशकुमार पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यसबेला जिल्ला अदालतले एक जनालाई थुनामा पठाउने र ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

तर दीपेश र नवीन अछामीले धरौटी रकम नबुझाएपछि कारागार चलान भएका थिए । जिल्ला अदालत रुपन्देहीले दीपेशलाई चार लाख र नवीनलाई १० लाख रुपैयाँमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशअनुसार दीपेश र नवीनले धरौटी रकम नबुझाएपछि कारागार चलान गरिएको थियो । वैशाख ९ गते आइतबार भने नवीन अछामी १० लाख रुपैयाँ धरौटी बुझाएर कारागारबाट छुटेका थिए ।

न्यायाधीश उप्रेतीको इजलासले वैशाख ७ गते दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगर र रोशनी गुरुङसँग २/२ लाख धरौटी माग गरेको थियो ।

सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना सार्वजनिक भएपछि प्रहरीले पीडितबाट जाहेरी माग गरेको थियो। अहिलेसम्म बचत हिनामिना भएको उल्लेख गरेर एक हजार आठ सय ३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका छन् ।

प्राप्त जाहेरीका आधारमा पीडितको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ । तर, सहकारीको कुल एक अर्ब दुई करोड रुपैयाँ हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.