जसपाको फुटलाई निर्वाचन आयोगले दियो मान्यता, नयाँ दल दर्ता

वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
जसपाको फुटलाई निर्वाचन आयोगले दियो मान्यता, नयाँ दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल विभाजन भएर बनेको जनता समाजवादी पार्टी (जनता समाजवादी)लाई दलको मान्यता दिएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गरी अशोक राईको नेतृत्वमा बनेको नयाँ दलले मान्यताका लागि आयोगमा निवेदन दिएको थियो ।

सोमबार आयोगले जसपा नेपालको विभाजनलाई स्वीकार गर्दै जनता समाजवादीलाई नियमावली अनुसार दल दर्ता गर्ने निर्णय गरेको जनाएको छ ।

आयोगले 'नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानून बमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दल सम्बन्धी नियमावली,२०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी संक्षिप्तमा (जनता समाजवादी) नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखिकरण गर्ने' भनी निर्णय गरेको छ ।

आयोगले दल दर्ताको जानकारी र दल दर्ताको प्रमाणपत्र 'जनता समाजवादी पार्टी' लाई दिई संघीय संसद सचिवालय, सबै प्रदेशसभा सचिवालय र सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई समेत दल दर्ताको जानकारी दिने जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.