साई स्वागत सहकारीमा मेरो कुनै पनि कारोबार र लेनदेन बाँकी छैन : निकिता पौडेल

वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
साई स्वागत सहकारीमा मेरो कुनै पनि कारोबार र लेनदेन बाँकी छैन : निकिता पौडेल

काठमाडौं । निकिता पौडेलले गत चैत २१ गते कान्तिपुरटीभी डटकमबाट प्रकाशित ‘गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल संलग्न सहकारीमा काठमाडौं महानगरको छापा’ शीर्षकको समाचारप्रति ध्यानाकर्षण जनाउँदै प्रष्टीकरण दिनुभएको छ ।

उक्त समाचारमा तस्बिरसहितको सञ्चालकको विवरणमा हातैले उजुरीकर्ताको नाम समावेश गरी शङ्कास्पद हस्ताक्षर एवं हजुरबुबाको गलत नाम उल्लेख रहेको विवरणसहित प्रकाशन एवं सम्प्रेषण भएको भन्दै उहाँले खण्डनका लागि माग गर्नुभएको हो ।

काठमाडौं महानगरले दिएको जानकारी अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेपछि महानगरपालिकाले साइ स्वागत बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेर केही कागजात नियन्त्रणमा लिएको सम्बन्धी समाचार प्रकाशन भएको थियो ।

उहाँले आफूलाई साई स्वागत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको उपाध्यक्षमा नियुक्त गरिएको सहकारीको अभिलेखबाट देखिए पनि आफू उक्त भूमिकामा नरहेको दाबी गर्नुभएको छ ।

उक्त सहकारी संस्थामा आफ्नो कुनै पनि कारोबार र लेनदेनसमेत बाँकी नरेको बताउँदै पौडेलले भन्नुभएको छ, ‘म निवेदक साई स्वागत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति २०७५/९/२८ को नवौँ वार्षिक साधारण सभाबाट सञ्चालक समिति उपाध्यक्ष पदमा नियुक्त गरेको सहकारीको अभिलेखबाट देखिए पनि आ.व. २०७५/०७६ को मिति २०७६/९/२६ को साधारण सभामा मेरो उपस्थिति नरहेको, आ.व. २०७७/६/८ मा उपाध्यक्ष पदबाट राजीनामा दिई मिति २०७७/६/९ मा स्वीकृत भै त्यसपछि सहकारीको कुनै पनि जिम्मेवारी एवं भूमिकामा म रहेको छैन ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.