सम्झनामा २०७२ सालको भूकम्प : न्यूजरुम जब सडकमा सर्‍यो...

वैशाख १२, २०८१ |पर्वतराज घिमिरे|नारायण किलम्बू
सम्झनामा २०७२ सालको भूकम्प : न्यूजरुम जब सडकमा सर्‍यो...

काठमाडौं । २०७२ साल वैशाख १२ गते अर्थात् ९ वर्षअघि आजकै दिन गएको विनाशकारी भूकम्पले देश अस्तव्यस्त थियो । भूकम्पलगत्तै कहाँ के कति क्षति भयो भन्ने अनुमानसम्म गर्न सकिएको थिएन । नागरिकमा डर, त्रास र अन्योल थियो । सञ्चारमाध्यमले सही सूचना पाउन सकेका थिएनन् । कतिपय त सञ्चारमाध्यमको त प्रसारण नै बन्द भएको थियो । तर पनि नागरिकलाई सूचना दिनुपर्ने दायित्व बोकेका सञ्चार माध्यमले आफूलाई व्यवस्थित गर्दै लगातार सूचना र समाचार दिइरहे । 

कान्तिपुर टेलिभिजन पनि एक सेकेण्ड विचलित नभई आमनागरिकलाई ताजा जानकारी र सूचना दिन निरन्तर लागिरह्यो । विनाशकारी भूकम्पका बेला कान्तिपुर टेलिभिजनले कसरी अनवरतरुपमा जनतालाई सुसूचित गरेको थियो त ?

२०७२ साल वैशाख १२ गते ११ बजेर ५६ मिनेट जाँदा भूकम्प गएको थियो । त्यसबेला कान्तिपुरका सहकर्मीहरू १२ बजेको समाचार बुलेटिन प्रसारण गर्ने अन्तिम तयारीमा थिए । समाचार प्रस्तोता मृदुला खनाल स्टुडियोभित्र समाचार प्रस्तुत गर्ने तयारीमा हुनुहुन्थ्यो भने समाचार कक्ष समाचारको तयारीमा थियो । भूकम्पले देशका धेरैजसो भाग अस्तव्यस्त हुँदा र अधिकांश नागरिक सुरक्षित ठाउँ र आफन्तको सूचना खोज्दै भौँतारिइरहेका बेला कान्तिपुरले समाचारलाई निरन्तरता दिने निर्णय गर्‍यो र खनालले स्टुडियोबाटै भूकम्प गएको जानकारी समाचारमार्फत आमनागरिकलाई दिनुभयो । 

भूकम्पले कान्तिपुरको भवनमा समेत क्षति पुग्यो । भूकम्पका परकम्पहरू लगातार आइरहेका थिए । स्टुडियोभित्र कसरी प्रवेश गर्ने भन्ने त्रास थियो । तर आफ्नो कर्तव्यबाट विमुख हुने छुट कान्तिपुरलाई थिएन । स्टुडियोबाट समाचार प्रसारण गर्न गाह्रो भएपछि ‌ओबी भ्यानको छतलाई नै प्रसारण स्थल बनाएर हामीले सूचनाको निरन्तरतालाई कायम राख्यौँ ।

अन्योलकैबीच हामीले आफ्नो कार्यालय बाहिर तीनकुनेको सडकमै बाँस, त्रिपाललगायतका सामग्री जोडजाम गरी अस्थायी स्टुडियो बनायौं र भूकम्पबारे ताजा समाचारहरू अपडेट गर्न थाल्यौँ ।

जनतालाई सर्वोपरि ठानेर कान्तिपुर दिनरात नभनी सडकबाटै जनतालाई सूचना दिन विचलित भएन । चुनौतीपूर्ण घडीमा पनि सडकबाटै समाचार प्रसारण गरेपछि कान्तिपुर टेलिभिजनप्रति विदेशी सञ्चार माध्यमको समेत चासोको विषय बन्यो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कान्तिपुरले गरेको प्रशंसनीय कार्यको समाचार नै बन्यो ।

त्यसो त सडकमै अस्थायी स्टुडियो बनाएर भूकम्पसम्बन्धी सत्य तथ्य सूचना र ताजा समाचार प्रसारण गर्नु चुनौतीपूर्ण थियो । तर पनि विपत्तिका बेला हामी हडबडाएनौँ । कहाँ के भइरहेको छ भन्ने समाचार लगातार दियौँ । यस्तो बेलामा सरकारलाई कर्तव्य मात्र सम्झाएनौँ नागरिकको दायित्वसमेत बोध गराउन झक्झकाइरह्यौं ।

भूकम्पपछिको उद्धार, उपचार, राहत वितरण कहाँ कसरी भइरहेको छ र सरकारको उपस्थिति छ कि छैन भनेर निरन्तर निगरानी गर्‍यौँ । धुलो, धुवा र घामपानीकाबीच एकसातासम्म सडकबाटै कान्तिपुर टेलिभिजन प्रसारण भयो । यसैबीच वैशाख २९ गते गएको भूकम्पको अर्को झट्काले हामीलाई सडकबाट कामलाई निरन्तरता दिन बाध्य बनायो ।

तीनकुनेस्थित सडकबाट टेलिभिजन प्रसारण गर्न समस्या हुन थालेपछि पेप्सिकोलास्थित कान्तिपुर पब्लिकेशनको टहराबाट प्रसारण गर्न थाल्यौँ । दुई सातापछि फेरि कान्तिपुर टेलिभिजनको आफ्नै स्टुडियोमा फर्केर जनतालाई निरन्तर सूचना र समाचार दिइरह्यौँ ।

विनाशकारी भूकम्पले आमनागरिकको दैनिकी अस्तव्यस्त बनाइरहेका बेला आफ्नै सहकर्मीले पनि पीडा खेप्नुपरेको थियो । तर हामीले त्यसको व्यवस्थापन गर्दै समाजलाई सुसूचित गर्ने दायित्वबाट कहिल्यै पछि हटेनौँ । सत्य तथ्य सूचना प्रवाह गरी समाजप्रति आफ्नो कर्तव्य पूरा गरेका थियो । वैशाख १२ गतेको जस्तो विपद् फेरि राष्ट्रले कहिल्यै भोग्नु नपरोस् । तर कान्तिपुर टेलिभिजन जस्तोसुकै संकटका बेला पनि अदम्य साहस र संकल्पसहित आफ्नो यात्रामा निरन्तर लागि रहने छ ।


Image

पर्वतराज घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।