काठमाडौं । देशभर सल्किरहेको डढेलो, सवारीसाधनबाट निस्कने हानिकारक धुँवा, धुलोलगायत कारण काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा छ । काठमाडौंको त के कुरा, रारा क्षेत्रको समेत वायु गुणस्तर प्रदूषित छ । तर, वायु प्रदूषण रोक्न अपनाइनुपर्ने पूर्वसावधानी र तयारीमा संघ र स्थानीय तहबीच समन्वय नै हुन सकेको छैन । नागरिकमा भने प्रदूषणका कारण आँखा पाक्ने, श्वासप्रश्वासजस्ता स्वास्थ्य समस्या बढ्दो छ ।
एक महिनादेखि विश्वकै प्रदूषित सहरको सूचीमा रहँदै आएको काठमाडौंको प्रदूषणको स्तर अझै उस्तै छ । आइतबार काठमाडौंको रत्नपार्क क्षेत्रमा वायु प्रदूषण सूचक (एक्यूआई) १६८ थियो । जबकि प्रदूषणको स्तर ५० भन्दा माथि रहनु मानवस्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
हावामा हुने हानिकारक धुलोका कण पीएम टु प्वाइन्ट फाइभको मात्रा काठमाडौंमा गत अप्रिलमा ८२.१ पाइएको थियो । धुलोका कण ४० भन्दा माथि भयो भने जनस्वास्थ्यका लागि हानिकारक मानिन्छ । धुलोका कण बढी हुँदा आँखा पोल्ने तथा श्वासप्रश्वासको समस्या निम्तने हुन्छ । त्यसो त काठमाडौंको मात्र होइन रारा क्षेत्रको समेत वायु प्रदूषणको अवस्था खराब रहेको वातावरण विभागका सूचना अधिकारी दीपक ज्ञवाली बताउनुहुन्छ ।
चार महिनादेखिको तथ्यांक हेर्ने हो भने काठमाडौंको वायुमा हानिकारक धुलोका कणको मात्रा ७० भन्दा माथि छ । जबकि गत वर्ष यही अवधिमा ३७ थियो । यसपटक त्यसको ठीक दोब्बर छ । यसलाई वातावरणविद्हरु भयावह मान्छन् । उनीहरुको आरोप छ, प्रदूषण बढ्नुमा सरकार र सरकारी संयन्त्रले खेलाँची गरिरहेका छन् । वातावरणविद् भूषण तुलाधर भन्नुहुन्छ, ‘तयारी पुगेन, चासो पुगेन, कार्ययोजना पनि कार्यान्वयनमा आएन ।’
डढेलो तथा आगलागीका घटना बढ्दै जाँदा अहिले देशभर वायु प्रदूषणको अवस्था उच्च छ । तर, पूर्वसावधानी, तयारी र नियन्त्रणमा तीनै तहका सरकारको ध्यान छैन । बरु एक-अर्कालाई दोष थोपर्न व्यस्त छन् ।
वायु प्रदूषणका कारण अस्पतालहरुमा आँखा, श्वासप्रश्वास, रुघाखोकी लगायतका बिरामी बढेका छन् ।
काठमाडौंको तिलगंगास्थित आँखा अस्पतालमा दैनिक आउने बिरामीमध्ये ४० प्रतिशतमा प्रदूषणका कारण आँखामा स्वास्थ्य समस्या देखिएको पाइएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पनि विगतमा दैनिक दुई सयजना आउने गरेकामा अहिले तीन सयको हाराहारीमा बिरामी आउन थालेको आँखा रोग विशेषज्ञ डा. वन्दना खनाल बताउनुहुन्छ ।
एक अध्ययनका अनुसार हरेक वर्ष वायु प्रदूषणजन्य स्वास्थ्य समस्याका कारण नेपालमा ४२ हजार एक सय मानिसको मृत्यु हुने गरेको देखिएको छ । पछिल्लो समय डढेलोले सबैभन्दा बढी प्रदूषण निम्त्याएको छ ।
डढेलो नियन्त्रण गरे मात्रै पनि प्रदूषण आधा घट्ने भएकाले सबैभन्दा पहिले नागरिक तहमै पूर्वसावधानी र सचेतना अपनाउनुपर्ने हुन्छ । सरकारमा पनि जनचेतना अभिवृद्धिदेखि मातहतका निकायहरुसँग समन्वय गर्नुपर्ने दायित्व छ । तर, त्यसो हुन सकिरहेको छैन । मन्त्रिपरिषद्बाटै चार वर्षअघि पारित भएको काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजनासमेत अलपत्र छ ।
यो पनि...
वायु प्रदूषण बढ्यो, कसरी जोगिने ? (डा. प्रकाश पौडेलसँगको कुराकानी)
स्याउलाकै भरमा डढेलो नियन्त्रण, छैन विपत्तिमा चाहिने प्रविधि र पूर्वतयारी
डढेलो लगाउनेविरुद्ध प्रहरी कठोर, कारबाही गर्न मातहतका कार्यालयलाई निर्देशन