चापाकल छ, पानी छैन

वैशाख ७, २०८१ |रमेश ठाकुर
चापाकल छ, पानी छैन

बारा । गर्मीयाम सुरु हुनासाथ बाराको दक्षिणी क्षेत्रमा खानेपानीको समस्या देखापर्न थालेको छ । वनजंगल विनाशका कारण पर्यावरणमा परेको असरले पछिल्लो समय पानीको स्रोत सुक्दै गएपछि अहिले अधिकांश चापाकलमा पानी आउनै छाडेको छ ।

बाराको कलैया उपमहानगरपालिका २०, बसतपुर टोलमा रहेको चापाकलमा पानी आउन छाडेको छ । चापाकल सुकेर पानी आउन छाडेपछि स्थानीय पानी खोजी गर्दै हिँड्नुपर्ने अवस्था छ ।

‘फागुनदेखि चापाकलहरु सुकेका छन्,’ बसतपुरका सन्दीप यादवले भन्नुभयो । कलैयाकै एक सय ८५ परिवारलाई पुग्ने गरी २०७७ सालमा दातृ निकायको सहयोगमा निर्माण भएको ४० हजार लिटर क्षमताको पानी ट्यांकी अहिले प्रयोगविहीन बनेको छ ।

सामान्य मर्मत सम्भार गरेर सञ्चालन गर्न सकिने यो ट्यांकी सञ्चालनका लागि पटक-पटक स्थानीय निकायलाई हारगुहार गर्दा पनि सुनुवाइ भएको छैन । ‘मेयरसाबलाई भन्दाखेरी १५ दिनमा स्टार्ट भइहाल्छ, एक महिनामा भइहाल्छ भन्नुहुन्छ । हामीले एउटै कुरो हजारपटक भन्दाभन्दा थाकिसक्यौं,’ बसतपुरका वडासदस्य केदारप्रसाद साहले कान्तिपुर टेलिभिजनसँग भन्नुभयो ।

त्यस्तै बारा कलैया उपमहानगरपालिका १२, धर्मनगरमा पनि अधिकांश चापाकलबाट पानी आउन छाडेको छ । ‘हाम्रो वडामा लगभग ६० देखि ७० प्रतिशत चापाकलमा पानी आउन छाडेको छ,’ धर्मनगरका दीपक यादवको भनाइ छ ।

यति मात्र होइन बाराको दक्षिणी भेकमा रहेको स्थानीय तह सिम्रौनगढ, पचरौता, आदर्श कोतवाल, देवताल, फेटा, प्रसौनी र विश्रामपुरको विभिन्न वडामा चापाकल सुक्ने समस्या बढ्दै गएको छ ।

जिल्लाको विभिन्न स्थानीय तहमा खाने बनाइएका ४६ वटा खानेपानी ट्यांकीमध्ये २८ वटा सञ्चालन हुनै सकेका छैनन् । ‘ट्यांकी बनेको छ तर पाइप खरिदका लागि बजेट छैन,’ खानेपानी तथा डिभिजन कार्यालय बाराका निमित्त प्रमुख किशोरीप्रसाद यादवले भन्नुभयो ।

निर्माण सम्पन्न भएर पनि सञ्चालन नगरिएका यी खानेपानी ट्यांकी सञ्चालनमा ल्याउन सके खानेपानीको समस्या भोगिरहेका नागरिकलाई केही राहत हुने थियो ।


Image

रमेश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका बारा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement