अग्निपीडितको घर मधेश प्रदेश सरकारले बनाउँछ : मुख्यमन्त्री यादव

मधेशका मुख्यमन्त्री यादव र जनमतका अध्यक्ष सीके राउत चिम्टीमा
वैशाख २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
अग्निपीडितको घर मधेश प्रदेश सरकारले बनाउँछ : मुख्यमन्त्री यादव

सप्तरी । सप्तरीको महदेवा गाउँपालिका १, चिम्टीका आगलागी पीडितहरुको अवस्था बुझ्न आज मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव र जनमत पार्टीका अध्यक्ष एवं संघीय सांसद सीके राउत चिम्टी पुग्नुभएको छ ।

आगलागी स्थलको अवलोकन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री यादवले सप्तरीको अग्निपीडितको घर मधेश प्रदेश सरकारले निर्माण गरिदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले एक/दुई दिनमै निर्णय गरेर आगलागीमा खरानी भएका घर निर्माण गरिदिने आश्वासन दिनुभयो ।

महादेवा गाउँपालिका १, चिम्टीमा गत मंगलबार आगलागी हुँदा यादव, मुसहर र मुस्लिम समुदायको संयुक्त रहेको बस्ती नै सखाप भएको थियो । मुख्यमन्त्री यादवले प्रदेश सरकार जनताको हरेक सुखदुःखमा रहने सरकार भएको ढाडस दिनुभयो ।

मुख्यमन्त्री यादवले महोत्तरीको मटिहानीका अग्निपीडितको घर बनाउन भने कानुनी जटिलता रहेको त्यस क्रममा जानकारी दिनुभयो । तर, त्यसको विकल्पमा प्रदेश सरकार जुटेको उहाँको भनाइ छ ।

यस्तै जनमत पार्टीका अध्यक्ष राउतले चिम्टीका अग्निपीडितलाई राहत स्वरुप कपडा र खानेकुरा वितरण गर्नुभएको छ । उहाँले तत्काल अग्निपीडितको घर बनाइदिन सरकारसँग आग्रहसमेत गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.