सुप्रिम सहकारीबाट रवि लामिछानेको खातामा १ करोड ८० लाख, प्रतिवादी भने बनाइएन (अभियोजनसहित)

सरकारी वकिल कार्यालयद्वारा अभियोजन पत्र दर्ता
वैशाख ३, २०८१ |भुवन पाण्डे
सुप्रिम सहकारीबाट रवि लामिछानेको खातामा १ करोड ८० लाख, प्रतिवादी भने बनाइएन (अभियोजनसहित)

रुपन्देही । बुटवलको सुप्रिम सहकारीबाट एक करोड ८० लाख रुपैयाँ रवि लामिछानेको खातामा गएको पुष्टि भएको छ । तर, जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेलाई प्रतिवादी नबनाइ रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

सरकारी वकिल कार्यालय रुपन्देहीले बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जीबी राई, दीपेश पुन, सागर केसीलगायत २८ जनालाई प्रतिवादी बनाएर आज (सोमबार) अभियोगपत्र दर्ता गरेको हो । तर, सहकारीको खाताबाट रवि लामिछानेको खातामा एक करोड ८० लाख रुपैयाँ पठाएको पुष्टि भए पनि उनलाई प्रतिवादी भने बनाइएको छैन । सुप्रिम सहकारीबाट रकम पठाएका सञ्चालकहरुको विवरणमा भने गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा लामिछानेको खातामा एक करोड ८० लाख गएको देखिन्छ ।

अभियोगपत्रमा २८ जनाबाट ८६ करोड १८ लाख २३ हजार सात सय ५४ रुपैयाँ बिगो माग दाबी गरिएको छ । सहकारी ऐन २०७४ को दफा १२२ को कसुरमा, दफा १२४ को उपदफा १ अन्तर्गत सजाय गर्न माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले अदालतसमक्ष अभियोगपत्र पेस गरेको हो । उनीहरुलाई आठ वर्षसम्म कैद तथा दाबी गरिएअनुसारको बिगो भराउन माग गरिएको छ ।

सुप्रिम सहकारी ठगी : दीपेश पुन र जीबी राईलाई मुद्दा, रविलाई उन्मुक्ति

प्रतिवादीमा सहकारीका पदाधिकारी, पूर्वपदाधिकारी, कर्मचारी तथा रकम हिनामिना गरेका ऋणीहरु रहेको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता मुक्तिराम सुवेदीले जनाए ।

प्रतिवादी बनाइएकामध्ये आठजना पक्राउ परिसकेका छन् । सहकारीका पूर्वसचिव रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशले तीन लाख रुपैयाँ पेस्की लिएको अभियोगपत्रमा उल्लेख छ । एक हजार आठ सय २८ जना सहकारी पीडितको जाहेरीपछि प्रहरीले सहकारी ठगीको संगठित अपराधमा ५८ दिन लामो अनुसन्धानपछि गत शुक्रबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

बुटवल र भैरहवालाई केन्द्र बनाएर सुप्रिम सहकारीले एक अर्ब दुई करोड रुपैयाँ बचतकर्ताबाट उठाएको छ । जसका आठ हजार बढी बचतकर्ता छन् । सहकारीले गैरसदस्यलाई समेत रकम लगानी गर्दै आएको थियो ।

गोर्खा मिडियामा मात्रै सहकारीको १० करोड

सुप्रिम सहकारीको १० करोड ९९ लाख रुपैयाँ गोर्खा मिडिया ग्रुपमा लगानी गरेको अदालतमा दायर अभियोजनपत्रमा उल्लेख छ । जिबी राई अध्यक्ष रहेको गोर्खा मिडिया ग्रुपमा सुप्रिमको दुई करोड ५० लाख छविलाल जोशीको नामबाट कारोबार भएको उल्लेख छ ।

त्यस्तै गोर्खा मिडिया ग्रुपकै सञ्चालक रहेका रवि लामिछानेको नाममा दुई करोड व्यापारकर्जा स्वीकृत गराएर लगिएको आरोप पत्रमा छ । ती रकम कुनै प्रक्रिया पूरा नगरी गोर्खा मिडिया ग्रुपमा लगानी भएको जिल्ला सरकारी वकिल कार्यालयको अभियोजनपत्रमा उल्लेख छ । रवि लामिछानेको नाममा २०७७ चैत १८ गते २ करोड स्वीकृत भएकामा एक करोड ९६ लाख गोर्खा मिडियाको खातामा जम्मा भएको देखिएको हो ।

सुप्रिमको १० करोड ९९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडियामा मात्रै लगानी भएको देखिएको छ । तर प्रहरीको अनुसन्धान प्रतिवेदन र जिल्ला सरकारी वकिल कार्यालयले समेत गोर्खा मिडियाकै अध्यक्ष जीबी राई र कुमार रम्तेल समेतलाई प्रतिवादी बनाउँदा रवि लामिछानेलाई भने छाडेको हो । ठगी र संगठित अपराधमा प्रहरीले अनुसन्धान पूरा गरेर शुक्रबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।

सहकारीको पैसामा रेस्टुरेन्ट

जीबी राईले गोर्खा मिडिया ग्रुपबाहेक अन्य नौवटा आफ्नो निजी कम्पनीमा सहकारीकै रकम लगेको भेटिएको छ । उनले जिबी ग्रुप अफ कम्पनी, नेचर नेस्ट लिमिटेड, स्प्रिङउड रियल स्टेट हाउजिङमा सहकारीकै रकम लगानी गरेको भेटिएको छ । जीबीले सहकारीकै पैसा ग्रजी स्पोन रेस्टुरेन्ट र मन्दार स्पा र नेक्सस म्युजिक बारमा समेत लगानी गरेका छन् ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement