जिल्ला अस्पताल ताप्लेजुङ्गमा चिकित्सक अभाव

भाद्र १, २०७९
जिल्ला अस्पताल ताप्लेजुङ्गमा चिकित्सक अभाव

सुदूरपूर्वी जिल्ला ताप्लेजुङका नागरिकलाई स्वास्थ्य सेवा पाउनै कठिन भएको छ । भौगोलिक हिसावले डोल्पा र हुम्लापछिको तेस्रो ठूलो जिल्लाको अस्पतालमा सधैं बिरामीको भीड लाग्ने गरेको छ । उपचारका लागि तीन दिनसम्म बोकिएर आएकाहरु पनि भेटिन्छन् । तर जिल्ला अस्पतालमा पर्याप्त चिकित्सक नहुँदा उनीहरुले समयमा उपचार पाउन सकेका छैनन् । उपलब्ध चिकित्सकलाई पनि एकै दिन सयौं बिरामी हेर्नुपर्ने बाध्यता छ ।

सामान्यतः एक जना चिकित्सकले दिनमा २० देखि २५ जनासम्म बिरामीको परीक्षण गर्न सक्छन् । तर ताप्लेजुङमा एकै जना चिकित्सकले दैनिक एक सयजना वढी  विरामी हेर्नुपर्ने वाध्यता छ ।  

अस्पतालको तथ्यांकअनुसार ताप्लेजुङमा दैनिक एक सयदेखि १ सय २५ जनासम्म विरामी ओपिडी सेवा लिन आउाछन् । आकस्मिक र २५ सैय्याको वार्डमा पनि बिरामी खचाखच हुन्छन् । झाडा पखाला, निमोनिया, टाइफाइड, ज्वरो जस्ता विरामीको चाप उच्च छ । तर बिरामी हेर्ने चिकित्सक भने दुई जना मात्रै छन् ।

अस्पतालबाट प्रवाह हुने सेवा सहज बनाउन जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा अस्पताल विकास समिति छ । समितिले चिकित्सकको व्यवस्था गर्न प्रदेशदेखि संघसम्म हारगुहार गरिरहे पनि पाउन सकेको छैन ।

चार जनाको दरबन्दी रहेको जिल्लामा स्थायी र दरबन्दीका डाक्टर एक जना पनि छैनन । यहाँ दरबन्दी राखेर कोही पढ्न गएका छन् भने करारका एक जना तालिममा छन् । महिनौंदेखि दुई जना चिकित्सकको भरमा रहेको अस्पतालको सेवा कहिलेसम्म यत्तिकै चल्ने हो र नागरिकले सास्ती पाउने क्रम कहिलेसम्म कायम रहने हो भन्ने यकिन छैन ।


Enter Kantipur TV HD
Advertisement