काठमाडौं । विश्वमा सबैभन्दा बढी जनसङ्ख्या भएको लोकतान्त्रिक देश भारतमा लोकसभा निर्वाचनका लागि मतदान जारी छ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा चुनाव तय भएकोमा आज पहिलो चरणको मतदान भइरहेको हो ।
मतदान आगामी १ जुनसम्म चल्नेछ भने ४ जुनमा मतगणना गरिनेछ । आज पहिलो चरणमा २१ राज्यको १ सय २ सिटका लागि मतदान भएको हो । उत्तर प्रदेशको ८, बिहारको ४, मध्यप्रधदेशको ६, राजस्थानको १२, उत्तराखंडको ५ , पश्चिमबंगालको ३, असमको ४, मेघालयको २, अरुणाचलको २ , मणिपुरको २, महाराष्ट्रको ५, र तमिलनाडुको ३९ सिटमा मतदान हुँदै छ ।
यस्तै छत्तीसगढ, मिजोरम, नागालैंड, सिक्किम, त्रिपुरा, जम्मु कश्मीर, अण्डमान निकोबार टापु, लक्षदि्वप, र पुडुचेरीका एक-एक सिटमा मतदान भइरहेको छ । आज मतदान हुने १०२ सीटका लागि १हजार ६सय २५ उम्मेदवार मैदानमा छन् । लोकसभा निर्वाचनसँगै चार राज्यहरू आन्ध्रप्रदेश, ओडिसा, सिक्किम र अरुणाचल प्रदेशमा विधानसभा निर्वाचनका लागि समेत मतदान भइरहेको छ ।
करिब एक अर्ब ४४ करोड जनसङ्ख्या रहेको भारतमा करिब ९७ करोड मतदाता रहेका छन् । कुल मतदातामध्ये ४९ करोड ७० लाख पुरुष मतदाता र ४७ करोड १० लाख महिला मतदाता रहेको जनाइएको छ ।
मतदानका लागि देशभर करिब १५ लाख मतदान स्थल स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदान इलेक्ट्रोनिक भोटिङ्ग मशिन "इभीएम"बाट गरिनेछ भने यसकालागि ५५ लाख इभीएमको व्यवस्था गरिएको छ । वृद्ध र असक्तका लागि पहिलो पटक हुलाकबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ । प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले भारतको प्रत्येक कुनासम्म लोकतन्त्रलाई पुर्याइने भन्दै मतदान गर्नबाट कुना कन्दराका मानिस नछुटुन् भन्ने व्यवस्था मिलाइने दृढता व्यक्त गरेका छन् ।
मतदानको व्यवस्थापन र सुरक्षाका लागि मतदान अधिकृत र सुरक्षाकर्मी गरी करिब डेढ करोड जनशक्ति खटाइने आयोगले जनाएको छ ।
५४३ सदस्यीय लोकसभामा सामान्य बहुमतका लागि २७२ सिट जित्नु आवश्यक छ । यो निर्वाचन मार्फत प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकाल पनि सत्ता सम्हाल्ने आकांक्षामा छन् भने विपक्षी कांग्रेस र उसको गठबन्धन मोदीलाई रोक्न जोडतोडले लागि रहेको छ।