भाजपा समर्थित सांसदका यौन हिंसाजन्य सयौं भिडियो आएपछि भारतीय राजनीतिमा तरंग !

वैशाख १९, २०८१ |प्रभात सिंह
भाजपा समर्थित सांसदका यौन हिंसाजन्य सयौं भिडियो आएपछि भारतीय राजनीतिमा तरंग !

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको नेसनल डेमोक्रेटिक अलायन्स एनडीएमा आवद्ध कर्नाटकको जनता दल युनाइटेड जेडीयूका नेता तथा कर्नाटकको हसनबाट निर्वाचित सासंद प्रज्वल रिभान्नाले सयौं मिहलामाथि यौन हिंसा गरेको भिडियोहरु सार्वजिनक भएपछि उनलाई पार्टीले निष्कासन गरेको छ । 

यौन हिंसाका भिडियो सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो भने त्यसलाई लिएर विपक्षीहरुले राजनीति तताएका छन् । जसको दबाबस्वरुप सोमबार मात्र पार्टीले उनलाई निष्कासन गरेको हो । यद्यपि, यी भिडियोहरु सार्वजनिक भएलगत्तै रिभान्ना भने भारत छाडेर गत शनिबार नै जर्मनी पुगेको भारतीय सञ्चार माध्यमले लेखेका छन् । यौन हिंसाका भिडियो सार्वजनिक भएलगत्तै कर्नाटक प्रहरीले पनि प्रज्जवलमाथिको अनुसन्धानलाई तिव्रता दिएको छ ।

रिभान्ना भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाका नाती हुन् । आइतबार रिभान्नाको घरमा भान्सेका रुपमा कार्यरत ४७ वर्षीया महिलाले उनी विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । उनले आफ्नी छोरीमाथि पनि रिभान्नाले यौन दुर्व्यवहार गरेको बताएकी छिन् ।

राज्य महिला कमिसन प्रमुख नागालक्ष्मी चौधरीको अनुरोधलाई मध्यनजर गर्दै कर्नाटकका मुख्यमन्त्री के. सिद्दारमैयाले यस घटनाको विशेष अनुसन्धानटोलीले अनुसन्धान गर्ने स्पष्ट पारेका छन् ।

कर्नाटकको हसन निर्वाचन क्षेत्रबाट रिभान्ना जारी लोकसभा निर्वाचनमा जेडीयूका तर्फबाट उम्मेद्‍वार हुन् । जहाँ २६ अप्रिलमा मतदान भइसकेको छ । उनको निर्वाचन क्षेत्रमा प्रधानमन्त्री नरेन्द्र मोदी समेत आमसभा गर्न पुगेका थिए । विपक्षी इन्डिया गठबन्धनले यो मुद्दालाई लिएर भाजपा र एनडीए गठबन्धनलाई निशाना बनाइरहेको छ । 

विपक्षीको आरोप छ, प्रधानमन्त्री मोदीले सबै कुरा थाहा पाएर पनि बुझ पचाउँदै रिभान्नाको चुनाव प्रचार गरे । मुख्यतः विपक्षी कांग्रेसले प्रधानमन्त्री मोदीको 'बेटी पढाओ, बेटी बचाओ'को नारालाई रिभान्नासँग जोडेर जोडदार आलोचना गरिरहेको छ । किनकि, रिभान्नाको अश्लील हर्कतको भिडियो २६ अप्रिलको मतदान हुनुभन्दा पाँच दिनअघि नै सार्वजनिक भएको थियो । 

सांसद रिभान्नाले यस घटनाबारे कुनै प्रतिक्रिया दिएका छैनन् । उनको कार्यालयले सार्वजनिक भएको यौन हिंसाको भिडियोलाई बनावटी भन्दै वचाउ गरिरहेको छ । जबकि, रिभान्ना संलग्न भएको भिडियोमा उनी प्रष्ट देखिएका छन् भने यस्ता भिडियो झन्डै ३ हजारको संख्यामा रहेको दाबी गरिएको छ ।


Image

प्रभात सिंह

सिंह कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।