पठनपाठनमा सुधार भएसँगै विराटनगरका सरकारी विद्यालयमा विद्यार्थीको घुइँचो

वैशाख २०, २०८१ |सुशीला पाठक
पठनपाठनमा सुधार भएसँगै विराटनगरका सरकारी विद्यालयमा विद्यार्थीको घुइँचो

विराटनगर । पठनपाठनको गुणस्तर सुधार गरेपछि विराटनगरका सरकारी विद्यालय अभिभावको रोजाइमा परेका छन् । विराटनगरको पोखरिया, आदर्श, सत्यनारायण मावि लगायतका विद्यालयमा विद्यार्थीको चाप अत्याधिक बढेको छ । पछिल्ला केही वर्षमा विराटनगरका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको हो । 

सामुदायिक विद्यालयको गुणस्तर राम्रो छैन भन्ने आरोपलाई गलत सावित गर्दै विराटनगरका पोखरिया, आदर्श, सत्यनारायण माविमा विद्यार्थीको भिड थाम्न गाह्रो हुने अवस्था आएको हो । यी विद्यालयले व्यवस्थापन पक्षमा मात्रै नभई शैक्षिक क्षेत्रमा सुधार ल्याएपछि विद्यार्थी अभिभावकको आकर्षण बढेको हो ।

पोखरिया आर्दश र सत्यनारयण माविले अंग्रेजी माध्यमबाट पढाएर एसईईमा राम्रो नतिजा ल्याएपछि निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको बढेका हुन् । यी विद्यालयले प्रवेश परीक्षामा उत्तीर्ण हुने विद्यार्थीलाई मात्र भर्ना लिन्छन् । मोरङ, सुनसरी, झापा, सप्तरी, सिरहासागै धनकुटा, भोजपुरसम्मका विद्यार्थी निजी विद्यालय छाडेर यी विद्यालयमा भर्ना हुन आएका छन् ।

अंग्रेजी माध्यमबाट पढाइ हुनु, सक्षम नेतृत्व, कुशल व्यवस्थापन, प्रविधिमैत्री पठनपाठन, शिक्षण सिकाइ र कक्षाकोठा, पुस्तकालय र प्रयोगशाला, दक्ष जनशक्ति भएका कारण यी विद्यालयमा धेरै अभिभावक लोभिन्छन् । विद्यालायमा नर्स, दक्ष शिक्षक, पठनपाठनका लागि चाहिने प्रर्याप्त सामग्री छन् । 

पोखरिया माविले एकदेखि नौ कक्षासम्म ६ सय ४५ जना विद्यार्थी भर्ना गर्न आवेदन खुलाएकोमा दुई हजार चार सय ३१ जनाको आवेदन पर्‍यो । यसैगरी आदर्श माविले बालकक्षादेखि नौसम्म तीन सय ७८ जनाको आवेदन खुलाएकोमा दुई हजार एक सय १४ जनाले आवेदन दिए । दुई सय ५० जनाका लागि भर्ना खुलाएको सत्यनारायण माविमा एक हजार पाँच सय ४५ जनाले आवेदन दिएका छन् । 


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।