कपिलवस्तुको गुडरुङ खोला सिँचाइ योजना ८ वर्षदेखि अलपत्र

बनिसकेका संरचना पनि जीर्ण हुँदै
वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कपिलवस्तुको गुडरुङ खोला सिँचाइ योजना ८ वर्षदेखि अलपत्र

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित गुडरुङ खोला सिँचाइ योजना ८ वर्षदेखि अलपत्र छ । जिल्लादेखि संघीय मन्त्रालयसम्म वन र सिँचाइबीच समन्वय अभावले काम रोकिँदा यो आयोजनाका बनिसकेका संरचना जीर्ण बनेका छन् । 

प्रारम्भिक वातावरणीय परीक्षण आईईई स्वीकृत नगराई वन क्षेत्रमा नहर बनाउन थालिएपछि बुद्धभूमि नगरपालिकास्थित चङघाटमा गुडरुङ खोला सिँचाइ योजना ८ वर्षदेखि अलपत्र छ । वन कार्यालयको अवरोधले ५ करोड ३१ लाख लागतमा बन्ने भनिएको सिँचाइ आयोजना बेवारिसे बनेको छ ।

०६९ फागुन १३ मा सम्झौता भई चंघाटस्थित गुडरुङ खोलामा पक्की बाँध निर्माण थालिएको थियो । दुई वर्षमा ३ करोड ८१ लाख लागतमा हेडबक्स निर्माण पूरा भइसकेको थियो । मुख्य नहर निर्माणको आधा बढी काम पनि भइसकेको थियो । मुख्य नहर ५ दशमलव ८ किमी र शाखा नहर ४ दशमलव ५ किमी छ । 

४ वटा सामुदायिक वन क्षेत्र हुँदै जाने मुख्य नहर मुख्य नहरको ४ किमी क्षेत्र वनमा पर्छ । ०७२ जेठ २७ गते वन कार्यालयका कर्मचारीले स्काभेटरको साँचो खोसेपछि अवरुद्ध भएको नहर खन्ने काम अझै सुचारु हुन सकेको छैन । 

तत्कालीन डिभिजन सिँचाइ कार्यालयले दुई प्याकेजमा यसको ठेक्का लगाएको थियो । हेडबक्सको ३ करोड ८१ लाख र नहरको १ करोड ५० लाखमा कंचनजंघा मेचीको लोकप्रिय जेभीले ठेक्का लिएको थियो । तर, काम हुन नसक्दा कार्यालयले ०७४ मा ठेक्का तोड्यो । खनेको नहर मर्मतसम्भार नहुँदा पुरिँदै गएको छ भने बाँध जीर्ण बन्दै गएको छ । 

योजना पूरा भएपछि ४ सय हेक्टरमा सिँचाइ सुविधा पुग्ने लक्ष्य थियो । बाँधको पानी नहर हुँदै बुड्ढीका विभिन्न तालमा लगेर त्यहाँबाट सहायक नहरमार्फत थप जमिनमा सिँचाइ सुविधा पुर्‍याउने भनिएको थियो । बल्ल आएर वन र सिँचाइ दुवै मन्त्रालयले नयाँ आईईई स्वीकृत त गरेका छन् । तर, नहर क्षेत्रमा पर्ने ५६ वटा रुख काट्ने अनुमति पाउन नसक्दा काम अघि बढेको छैन । 

मन्त्रिपरिषद्‌बाट निर्णय भएर आए पनि कानुनी अड्चनले योजना अघि बढ्न गाह्रो भएको अधिकारीहरू बताउँछन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement