लगानी सम्मेलनको आज दोस्रो दिन, लगानीका सम्भावनाबारे छलफल गरिँदै

वैशाख १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
लगानी सम्मेलनको आज दोस्रो दिन, लगानीका सम्भावनाबारे छलफल गरिँदै

काठमाडौं । लगानी सम्मेलनको दोस्रो दिन आज लगानीका विभिन्न सम्भावनाबारे छलफल हुँदै छ । सम्मेलनमा स्वदेशी र विदेशी गरी २१ सय त्रिसठ्ठी प्रतिनिधि सहभागी छन् । सम्मेलनमा साठी देशबाट लगानीकर्ता सहभागी हुँदा चीनबाट २ सय चालीस र भारतबाट १ सय ८६ प्रतिनिधि सहभागी रहेको लगानी बोर्डले जनाएको छ । यसअघि लगानी सम्मेलनको पहिलो दिन हिजो दुईवटा सम्झौता भएको छ । डेटा सेन्टर निर्माण तथा सञ्चालन र व्यापार तथा लगानी प्रवर्द्धनका विषयमा सम्झौता भएको हो ।

डेटा सेन्टर निर्माण तथा सञ्चालनका लागि नेपाली कम्पनी बीएलसी ग्रुप र भारतीय कम्पनी योट्टा डेटा सर्भिसेजबीच सम्झौता भयो । सम्झौतामा बीएलसी ग्रुपका प्रतिनिधि मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनील गुप्ताले हस्ताक्षर गरेका छन् । नेपालमा विश्वस्तरको डेटा सेन्टर, क्लाउड सर्भिस र आर्टिफिसियल इन्टेलिजेन्स प्लेटर्फम निर्माणका लागि दुई कम्पनीबीच सम्झौता भएको हो । डेटा सेन्टर खुलेसागै यसले नेपालमा ३ देखि ४ मेगावाट बराबरको बिजुली खपत गर्नेछ । करिव चार अर्ब लगानीको यो आयोजनाले नेपालमा दक्ष जनशक्ति उत्पादनमा पनि सहयोग पुर्याउने लगानीकर्ताहरुको दाबी छ ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, मलेसियाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने सम्झौता भएको छ । महासंघका अध्यक्ष चन्द्र ढकाल र नेसनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री अफ मलेसियका अध्यक्ष टान स्री दातो सो थियान लाईले सम्झौतामा हस्ताक्षर गरेका छन् । यसले मलेसियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न सहज हुने दाबी छ । मलेसियाली लगानीकर्ताले नेपालमा लगानी गर्न खोजेकाले यो सम्झौता गरिएको महासंघले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.