भोलि सुरु हुने तेस्रो लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा

५५ देशका २ हजारभन्दा बढी लगानीकर्ता सहभागी हुने
पहिलो दिन लगानीको सम्भाव्यताबारे बहस
वैशाख १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
भोलि सुरु हुने तेस्रो लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । भोलि सुरु हुने तेस्रो लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको लगानी बोर्डले जनाएको छ । बोर्डका अनुसार दुई दिनसम्म चल्ने सम्मेलनका लागि विदेशी पाहुना आउने क्रम सुरु भइसकेको छ ।

बोर्डले करिब २४ सय विदेशी लगानीकर्तालाई निम्तो पठाएकोमा अहिलेसम्म १६ सयभन्दा बढीको दर्तालाई प्रमाणित गरेर प्रवेशका लागि क्यूआर दिइसकेको छ । ढिलो रजिस्ट्रेसन गरेका २१ सयभन्दा बढीलाई भने प्रवेश अनुमति दिइएको छैन । तीमध्ये विदशी लगानीकर्ताको रजिस्ट्रेसन प्रमाणित गर्ने र स्वदेशी लागनीकर्ताको रजिस्ट्रेसन रद्द गर्ने बोर्डको तयारी छ । सम्मेलनमा ५५ देशका २ हजारभन्दा बढीको सहभागिता रहने बोर्डको अनुमान छ ।

सम्मेलनमा कुल १० सत्र सन्चालन हुने छन् र ५० जनाभन्दा बढी वक्ता रहने छन् । पहिलो दिन २ वटा र दोस्रो दिन ८ वटा सत्र सन्चालन गरिने छ । पहिलो दिनको पहिलो सत्रमा १५ जना वक्ताले बोल्ने कार्यक्रम रहेको छ । पहिलो सत्रमा नेपालमा लगानीको सम्भाव्यता र दोस्रो सत्रमा मुनाफा आर्जन गरेका कम्पनीको अनुभव आदानप्रदान हुने बोर्डले जनाएको छ ।

बोर्डले लगानीका लागि १ सय ४८ परियोजनाको सूची तयार पारेको छ, जसमा बोर्डका २०, निजी क्षेत्रका ३२, स्थानीय तहका ४ र अन्य निकायका ९६ परियोजना समावेश छन् । स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानीयोग्य परियोजनाबारे जानकारी गराउँदै आकर्षित गर्न लगानी सम्मेलनको आयोजना गरिएको हो ।

लगानीकर्तालाई आकर्षित गर्न सरकारले लगानीका लागि बाधक मानिएका ऐन अध्यादेशमार्फत संशोधन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.