प्रतिनिधिसभाको बैठक जेठ १ गतेसम्म स्थगित

वैशाख २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभाको बैठक जेठ १ गतेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले आजको कार्यसूचीमा रहेका बाँकी कार्यक्रम हटाइएको घोषणा गर्दै अर्को बैठक जेठ १ गते साँझ ६ बजेसम्मका लागि स्थगित भएको घोषणा गर्नुभयो ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने मुछिएको र त्यसको छानबिनका लागि संसदीय छानबिन समिति बनाउने माग यथावतै रहेको भन्दै सदनमा अवरोध गरेको थियो । बैठकमा कांग्रेसका सांसदहरुले सहकारीपीडितलाई न्याय दिन माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

कांग्रेसले समिति नबनेसम्म संसद्‌का कुनै पनि काम-कारबाही अघि बढ्न नदिने जनाएको छ ।

आजदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै विरोध गरे । कांग्रेस सांसदहरुको विरोधपछि सभामुख घिमिरेले बैठक स्थगित गर्नुभएको हो ।

सदनमा कांग्रेस सांसद गगन थापाले सरकारले प्रतिपक्षीको प्रश्नलाई दबाउन खोजेको र हेपेको भन्दै आक्रोश पोख्नुभयो । उहाँले संसदीय छानबिनविना संसद् चल्न नदिने अडान राख्नुभयो ।

२ बजे बोलाइएको बैठक दुई घण्टा ढिलो गरेर ४ बजेपछि बसेको थियो । संसद् बस्नासाथ कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । लगत्तै सभामुख देवराज घिमिरेले कांग्रेस सांसद गगन थापालाई बोल्न समय दिनुभएको थियो ।

यसैबीच कांग्रेसले राष्ट्रिय सभा बैठकमा पनि अवरोध पुर्‍याएको छ । राष्ट्रिय सभाको दोस्रो बैठकमा कांग्रेसका सांसदहरुले आजको बैठक अवरुद्ध पारेका हुन् । सभामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अध्यक्ष नारायणप्रसाद दाहालले अनुमति दिन लागेसँगै काँग्रेसका सांसदहरु उठेर विरोध जनाएका थिए ।

संसद्‌मा प्रतिपक्षले उठाएका मुद्दा सरकारले नसुनेको भन्दै कांग्रेसले विरोध जनाएको हो ।

आमनागरिकले जम्मा गरेको रकम हिनामिना, अपचलन र दुरुपयोग भएको तथ्य नेपालीको चासो, चिन्ताको विषय भएकाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेस सांसद कृष्णप्रसाद सिटौलाले माग राख्नुभयो । उहाँले संसदीय छानबिन समिति गठन गर्न गृहमन्त्री लामिछाने किन डराएको भन्दै प्रतिप्रश्नसमेत गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.