कहिलेबाट बंगलादेशमा बिजुली निर्यात गर्ने, टुंगो लाग्न सकेन

वैशाख २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कहिलेबाट बंगलादेशमा बिजुली निर्यात गर्ने, टुंगो लाग्न सकेन

काठमाडौं । नेपाल सरकारले जेठ १५ देखि नै बंगलादेशसम्म ४० मेगावाट विद्युत् निर्यातको तयारी गरे पनि बंगलादेशले भने अहिलेसम्म नेपालबाट बिजुली खरिद गर्ने दरसहितको प्रस्ताव पास गरेको छैन । जसका कारण कहिलेबाट बंगलादेश बिजुली निर्यात गर्ने भन्ने टुंगो लाग्न सकेको छैन ।

बंगलादेशको मन्त्रिपरिषद्ले नेपालबाट बिजुली खरिद गर्ने प्रस्ताव पास गरेपछि  नेपाल विद्युत् प्राधिकरण, विद्युत् व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर हुनुपर्छ । त्यसपछि मात्रै बंगलादेसम्म बिजुली निर्यातको बाटो खुल्नेछ ।

गत फागुनमा ढाकामा बसेको विद्युत् प्राधिकरणका अधिकारी र बंगलादेश पावर डेभलपमेन्ट बोर्डअन्तर्गतको बोलपत्र मूल्यांकन समितिको बैठकमा मूल्यमा सहमति भएको छ । जुन सहमतिलाई त्यहाँको मन्त्रिपरिषद्ले पारित गर्नुपर्छ । 

गत वर्ष  प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा भारत आफ्नो प्रसारण लाइन प्रयोग गर्दै नेपाललाई बिजुली निर्यात गर्न दिन सहमत भएको थियो । सोहीअनुसार गत वर्षकै जेठमा नेपाल-बंगलादेश ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतीय प्रसारण लाइन प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको थियो । 

असार  १ देखि कात्तिक मसान्तसम्म नेपालले ढल्केबर-मुजफ्फरपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर-भेरामारा प्रसारण लाइनबाट बंगलादेशलाई विद्युत् निर्यात गर्नेछ । भारतीय प्रसारण लाइन प्रयोग गरेबापतको भाडा भने बंगलादेशले नै तिर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.