काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध गरेको छ ।
शुक्रबार राष्ट्रिय सभाको दोस्रो बैठकमा कांग्रेसका सांसदहरुले बैठक अवरुद्ध पारेका हुन् । सभामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अध्यक्ष नारायणप्रसाद दाहालले अनुमति दिन लागेसँगै काँग्रेसका सांसदहरु उठेर विरोध जनाएका थिए ।
संसद्मा प्रतिपक्षले उठाएका मुद्दा सरकारले नसुनेको भन्दै कांग्रेसले विरोध जनाएको हो । आमनागरिकले जम्मा गरेको रकम हिनामिना, अपचलन र दुरुपयोग भएको तथ्य नेपालीको चासो, चिन्ताको विषय भएकाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखेको छ ।