भूकम्पपीडितको पीर : बर्खे झरीसँग कसरी जुध्ने ?

जाजरकोट भूकम्पपीडितलाई अस्थायी आवासको प्रक्रिया अझै अपुरो
चैत्र १६, २०८० |महेश केसी
भूकम्पपीडितको पीर : बर्खे झरीसँग कसरी जुध्ने ?

रुकुम पश्चिम । जाजरकोट र रुकुम पश्चिममा भूकम्प गएको लामो समय बितिसक्दा पनि अस्थायी आवास निर्माणको काम र प्रक्रिया सकिएको छैन ।

जसका कारण सबै भूकम्पपीडित अस्थायी टहरामा सर्न पाएका छैनन् । त्रिपाल र टहरामुनि हिउँदको चिसो जसोतसो खपेका भूकम्पपीडितलाई अब बर्खे झरीसँग कसरी जुध्ने भन्ने पीर छ ।

जाजरकोटलाई केन्द्र बनाएर भूकम्प गएको पाँच महिना पुग्नै लाग्दा भूकम्पका कारण घरवासविहीन भएका रुकुम पश्चिमका अधिकांश पीडितले जसोतसो अस्थायी टहरा बनाए । यसका लागि पहिलो किस्ताबापत २५ हजार रुपैयाँ पाएकाहरुले अब दोस्रो किस्ता पर्खिरहेका छन् । हिउँदको चिसो, त्रिपाल र टहरामा बिताएकाहरुलाई यो सुक्खायाममा आउनसक्ने हावा-हुरी अनि बर्खा कसरी कटाउने भन्ने पीर छ ।

‘दोस्रो किस्ता पाउने भनिए पनि पाइएको छैन । सरकारले दिने कि नदिने टुंगो छैन,’ आठबिसकोट नगरपालिका १४, रुकुम पश्चिमका डम्बर कामीले भने, ‘घर कसरी बनाउने ? के गर्ने भन्नेमै छौं ।’

अहिलेसम्म कायम भएका रुकुम पश्चिमका कुल ३१ हजार ४५३ लाभग्राहीमध्ये ३० हजार ६३७ लाभग्राहीले पहिलो किस्ता बापतको रकम पाएका छन् । अस्थायी टहरा बनाईसकेको र बाँकी टहरा पनि बन्ने क्रममा रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

पहिलो किस्ता प्राप्त गरेका लाभग्राहीहरुको स्वःघोषणा फाराम, भत्काएको घर र अस्थायी टहराको तस्बिर तथा रकम बुझेको भरपाइ आदि विभिन्न कागजात ‘विपत् पोर्टल’ मा अपलोड नगरेसम्म अर्को किस्ता पठाउन नसकिने बताइएको छ । यसकारण पनि लाभग्राहीसम्म दोस्रो किस्ता बापतको बाँकी २५ हजार रुपैयाँ पठाउन समय लाग्ने देखिएको सानीभेरी गाउँपालिका रुकुम पश्चिमका प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकी बताउँछन् ।

भूकम्प गएको लामो समय बितिसक्दा पनि अस्थायी आवास निर्माणको काम र प्रक्रिया नै सकिएको छैन । यसपछि पुनर्निर्माणको काम के-कसरी अगाडि बढ्ने हो भन्ने बारे स्पष्ट खाका बनाएर आवश्यक तयारी गर्ने कुरामा पनि सरकारी ढिलाइ उस्तै छ ।

‘पुनर्निर्माणको कार्यविधि अहिलेसम्म जिल्लामा प्राप्त भइसकेको छैन । अनौपचारिक रुपमा बुझ्दा अर्थ मन्त्रालय यो कार्यविधि रहेको भन्ने बुझिन आएको छ,’ रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले भने ।

त्रिपाल र टहरामुनि हिउँदको चिसो जसोतसो खपेका भूकम्पपीडितलाई अब बर्खे झरीसँग कसरी जुध्ने भन्ने पीर छ । पीडितको स्वास्थ्य, सुरक्षा र जीवनरक्षाका लागि अहिलेको यो अवस्थाले थेक्न सक्ने देखिँदैन ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement